दसैंमा नेपाली चलचित्रको उत्साहजनक व्यापार : कुन फिल्मले कति कमाए ?-Sutra News

दसैंमा नेपाली चलचित्रको उत्साहजनक व्यापार : कुन फिल्मले कति कमाए ?

बुधबार, ३० असोज २०८१

बुधबार, ३० असोज २०८१

काठमाडौं । यसपटकको दसैंलाई केन्द्रित गरी चार वटा नेपाली फिल्म प्रदर्शनमा आएका थिए । निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनाकै दिन रिलिज भएको थियो भने दीपकराज गिरीको फिल्म ‘छक्का पञ्जा ५’, विराज भट्टको फिल्म ‘१२ गाउँ’ र जितु नेपालको फिल्म ‘ज्वाइँ साब’ फूलपातीको दिन प्रदर्शनमा आएका थिए ।



दसैंको अन्तिम दिन (कोजाग्रत पूर्णिमा)सँगै फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट आउट भएको छ भने फूलपातीमा प्रदर्शनमा आएका अन्य तीन फिल्महरु चलिरहेका छन् । बस्नेतले हलहरुले शोमा अन्याय गरेको भन्दै हलको विकल्पमा ओटीटी प्लेटफर्ममा जाने घोषणा गरेका छन् । अकुपेन्सी राम्रो हुँदा हुँदै शो नपाएपछि हलबाट बाहिरिने निर्णयमा बस्नेत पुगेको देखिन्छ ।

यद्यपि, हलमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले उच्च शोसँगै उत्साहजनकरुपमा दर्शकको साथ पाएका छन् भने ‘ज्वाइँ साब’ले पनि अपेक्षाकृतरुपमै शो र दर्शक पाइरहेको छ । बुधबारसम्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’का अधिकांश शोहरु हाउसफूलको अवस्थामा छन् भने ‘ज्वाइँ साब’लाई केही कठिन देखिएको छ । यद्यपि, सुरुवातीभन्दा ‘ज्वाइँ साब’को शोमा पनि दर्शक अकुपेन्सी बढ्दै गएको देखिन्छ ।

‘छक्का पञ्जा ५’ले सिरिजकै उत्कृष्ट ओपनिङ गरेको थियो । फिल्मले प्रदर्शनको पहिलो दिन नै दुई करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको थियो ।

प्रदर्शनको ६ दिन (मंगलबार)सम्मको डाटाअनुसार ‘छक्का पञ्जा ५’ले १० करोड ५० लाख हाराहारीको ग्रस कलेक्सन गरेको छ । फिल्मका वितरक मनोज राठीका अनुसार घरेलु हलबाट सो बराबरको कमाई गरेको हो ।

प्रदर्शनको सातौं दिन (बुधबार) पनि मंगलबारकै शैलीमा कमाई हुने प्रक्षेपण वितरक राँठीको छ । बुधबार पनि अधिकांश शोहरु हाउसफूल नै छन् ।

यता, सुरुवातीभन्दा क्रमशः उत्साहपूर्ण शो र दर्शकको साथ पाइरहेको ‘१२ गाउँ’ले पनि उत्साहपूर्ण नै कमाई गरेको छ । ‘१२ गाउँ’ले मंगलबारसम्म ८ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको फिल्म निर्माण पक्षले बताएको छ ।

‘ज्वाइँ साब’ले भने बक्स अफिस कलेक्सन खुलाइएको छैन । तैपनि उसको पछिल्लो समय बढ्दै गएको उत्साह जगाउने व्यापारले कमाई अपेक्षाकृत नै हुने सम्भावना छ ।

फूलपाती अघिसम्म निरन्तर हाउसफूल देखिएको ‘बेहुली फ्रम मेघौली’ ले निकै राम्रो कमाई गरेको बताइएको छ । ८० लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै ओपनिङ गरेको फिल्मले तीन दिनमै साढे दुई करोडको आम्दानी गरेको थियो । यद्यपि, त्यसयता ‘बेहुली फ्रम मेघौली’ले बक्स अफिस कलेक्सन भने सार्वजनिक गरेको छैन ।

यसअघिका दसैंमा सीमित नेपाली फिल्मको मात्रै हलमा उपस्थिति रहने गर्दथ्यो । सँगै भारतीय फिल्महरुले उच्च शो पाउने र नेपाली फिल्म खुम्चिने स्थिति देखिन्थ्यो । तर, यसपटक नेपाली फिल्महरुले उच्च शो मात्रै पाएनन् हलमा राम्रो आम्दानी पनि बटुलेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट