कांग्रेस–एमाले गठबन्धन : खरानीको डल्लो कि ढुंगो ?-Sutra News

कांग्रेस–एमाले गठबन्धन : खरानीको डल्लो कि ढुंगो ?

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौं । ६९औं प्रहरी दिवसलाई सम्बोधन बुधबार गर्न प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली प्रहरीभित्रका विषयभन्दा राजनीतिक विषयमा केन्द्रित बने । प्रहरी अधिकारीलाई सम्बोधन गर्दा ओलीले सरकारमाथि उठेका प्रश्नमा जवाफ दिन समय खर्चिए । विशेषगरी पछिल्लो चरणमा सरकारका आयुबारे भइरहेका चर्चालाई केन्द्रित बनाएर ओलीले जवाफ दिएका थिए ।



ओलीले कांग्रेस–एमाले गठबन्धन र गठबन्धन सरकार निक्कै बलियो भएको बताएका छन् । ओलीले गठबन्धन सरकार ‘खरानीको डल्लो’ जस्तो नभएको टिप्पणी गरेका छन् ।

“नेपालको राजनीति, नेपालको समाज, नेपाली अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली कांग्रेस र एमालेजस्तो पार्टीहरू मिलेर अहिले सरकार बनाएका छन् । सरकार लगभग दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन”, ओलीले भनेका छन्, “एमाले र कांग्रेस जसको इतिहास, यो देशको विकास गर्ने कुरामा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरूको सरकार हो यो ।”

उनले चुनावअघि सरकार परिवर्तनको सम्भावना नरहेको पनि बताए । सँगै ओलीले ७ बुँदे समझदारीअनुसार नै आफूले सत्ता हस्तान्तरण गर्ने पनि प्रतिबद्धता दोहोर्‍याए ।

“म सबैलाई आश्वस्त रहनु पनि आग्रह गर्न चाहन्छु कि, कुनै पनि प्रकारका भ्रमहरूमा नपर्न म आग्रह गर्न चाहन्छु, अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्नेकुरा पनि सुनिन्छ, दसैंपछि तुरुन्त परिवर्तन हुन्छ रे ! कुन दसैंपछि ? २०८४ सालको दसैंपछिको चुनावमा ? त्यसभन्दा पहिला मैले पहिले नै भनिसकेको छु– मैले एक वर्ष नौ महिना जति रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तातरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु । त्यसपछि आफै फेरिन्छ सरकार”, ओलीले भनेका छन्, “त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । र, चुनाव उहाँको नेतृत्वमा हुन्छ २०८४ सालमा ।”

प्रधानमन्त्री ओलीले प्रहरी दिवसमा पुगेर सरकारको आयुबारे उठेको प्रश्नमाथि जवाफमात्रै फर्काएनन्, उनले सत्ता साझेदार नेपाली कांग्रेसलाई फेरि एकपटक आश्वस्त पार्ने काम पनि गरे । उनले समझदारीअनुसार नै सत्ता हस्तान्तरणमा तलमाथि नहुने प्रतिबद्धता पनि दोहो¥याए ।

ओलीले किन यसरी राजनीतिक भाषा प्रहरीको कार्यक्रममा पुगेर गरे ? दसैंले सेलाएको राजनीतिलाई किन सरकारको आयुबारे प्रश्न उठाएर तरंगित बनाए ? ओलीले देउवालाई आश्वस्त पार्नुको कारण के हो ?

राजनीतिक विश्लेषक मुकुन्द आचार्य ओलीको भाषाशैलीले सरकारभित्र उच्च तहको असहजता उत्पन्न भएको संकेत गर्ने बताउँछन् । सरकारको ‘हनिमुन’ पिरियडलाई लिएर गठबन्धनभित्र र कांग्रेसभित्र बढेको असमझदारीलाई पनि ओलीले सम्बोधन गर्न खोजेको देखिने उनको भनाइ छ ।

“ओलीले किन सरकारको आयुबारे बोले ? किन देउवालाई फेरि आश्वस्त पार्न खोजे ? यसले स्पष्ट पार्छ, गठबन्धनभित्र असहजता उत्पन्न भएको छ”, आचार्यले भनेका छन्, “बाह्य कारणभन्दा पनि कांग्रेस र एमालेभित्रै असमझदारी विकास भएको देखाउँछ, अविश्वास विकास भएको देखाउँछ ।”

विशेषगरी हनिमुन पिरियडभित्र सरकारले कमाएको बदनामीको कारण पनि सरकारको आयुमाथि प्रश्न उठ्ने अवस्था बनेको आचार्यको बुझाइ छ । “सरकारी मुद्दा खेपिरहेका मिनबहादुरसँगको जग्गा लेनदेन काण्ड एउटा विषय होला तर, ओली सरकारले तीन महिनामा के गर्‍यो भनेर हेर्दा खास केही छैन, सरकार थप विवादित बनेको छ”, उनले भनेका छन्, “कांग्रेसभित्र ओलीको विवादलाई किन बोक्ने भन्ने परेको छ, जसमा उनले आश्वस्त पार्न खोजेका हुन् ।”

विपक्षी गठबन्धन बलियो भइरहेको र कांग्रेसभित्र पनि वर्तमान सरकारविरोधी कित्ता बलियो बनिरहेको सन्दर्भमा सरकारको आयुमाथि गम्भीर प्रश्न उठेको आचार्यको बुझाई छ । जसमा ओलीले बिम्बात्मकरुपमा भनेको ‘खरानी डल्लो’ भन्न सुहाउने अवस्था भएको उनको टिप्पणी छ ।

“ओलीले खरानीको डल्लो होइन भन्नुभयो तर, घटनाक्रमले सरकार ढुंगो हो भन्ने देखाउन्न, खरानीकै ढल्लो हो भन्ने देखाउँछ”, उनले भनेका छन्, “जुनसुकै बेला सरकार भत्कन सक्ने सम्भावना रहेको कारण सरकारलाई ढुंगो जस्तो बलियो भन्न मिल्दैन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट