एनपीएल- पोखरा एभेञ्जर्समा अनुभवी प्रशिक्षक र विकेटकिपर अनुबन्धन, यस्ता छन् दुर्बल पक्ष-Sutra News

एनपीएल- पोखरा एभेञ्जर्समा अनुभवी प्रशिक्षक र विकेटकिपर अनुबन्धन, यस्ता छन् दुर्बल पक्ष

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा मंहगो मूल्यमा बिक्री भएको फ्रेञ्चाइजी टोली हो, पोखरा एभेञ्जर्स ।



सुवोध त्रिपाठीको नेतृत्व रहेको नेपाल टी २० प्राइभेट लिमिटेडले तीन करोड ५७ लाख रुपैयाँ खर्चेर पोखरा एभेञ्जर्सको स्वामित्व किनेको थियो ।

नेपाली राष्ट्रिय टिममा बिस्फोटक ब्याट्सम्यानको छवि बनाएका ओपनर कुशल भुर्तेल मार्की खेलाडी रहेको यो कस्तो टोली हो ? यसका सबल र दुर्बल पक्षहरू के के हुन् ? यसबारे सबैको मनमा कौतुहलता रहेको छ ।

दशैँअगाडि सम्पन्न एनपीएल अक्सनमा चितवन, सुदूरपश्चिम र कर्णालीको प्रतिस्पर्धालाई पछि पार्दै बायाँ हाते स्पिनर सागर ढकाललाई अनुबन्ध गर्न सफल बनेको पोखरा एभेञ्जर्सले आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री, दिलीप नाथ, त्रितराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अनुबन्ध गरेको थियो ।

टोलीले बिहीबारमात्रै अमेरिकी राष्ट्रिय टोलीका विकेट किपर तथा विस्फोटक ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको घोषणा गरेको छ । गौस एनपीएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी हुँदा उनलाई भित्र्याउने टोली पनि पोखरा नै बन्यो ।

अमेरिकी राष्ट्रिय टोलीका लागि विकेट किपरका साथै दायाँ हाते ब्याट्सम्यान गौसले साउथ अफ्रिकाबाट उमेर समूहमा प्रतिस्पर्धा गर्दै आएकाले उनी सम्भावना बोकेको खेलाडी मानिन्छन् । सन् २०२४ मा मात्रै अमेरिकी राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

उनको आगमनसँगै एनपीएलमा पोखरा एभेञ्जर्सको ब्याटिङ पक्ष थप बलियो बनाउन मद्दत हुनेछ । यो टोलीले यसअघि इण्डियन प्रिमियर लिग आइपीएलमा चेन्नाई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेर काम गरेका राजीव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

भारतीय क्रिकेट टोलीका सबैभन्दा चर्चित र सफल क्रिकेटरको परिचय बनाएका महेन्द्र सिंह धोनीलाई प्रशिक्षण दिनुका साथै बिदर्भ ट्रफीमा बिहार र झारखण्डका लागि धोनीसँगै क्रिकेट खेलेको अनुभव भएका राजीवको आगमनले पोखराको ब्याटिङ र फिल्डिङ उत्कृष्ट बन्नेमा कुनै शंका छैन ।

ब्याटिङ पक्षलाई एकपछि अर्को गर्दै बलियो बनाएको पोखरा एभेञ्जर्समा बायाँ हाते स्पिनर सागर ढकालबाहेक अन्य बलरहरूको अन्तर्राष्ट्रिय प्रदर्शनको अनुभव नहुँदा बलिङ पक्ष कमजोर देखिएको छ ।

टोलीको मार्की खेलाडी कुशल भुर्तेल स्वयं पछिल्लो समय खराब परिस्थितिसँग संघर्ष गरिरहेका छन् । एनपीएलमा पनि उनको खराब फर्म जारी रहे पोखराको प्रदर्शन धर्मराउन सक्ने चुनौती थपिएको छ ,

अक्सनबाट काठमाडौँ गुर्खाजपछि सबैभन्दा कमजोर देखिएको पोखरा एभेञ्जर्सले आफ्नो ब्याटिङ पक्ष मजबुत बनाउँदा स्तरीय विदेशी ब्याट्सम्यान र फास्ट बलर अनुबन्ध गर्न सके सात वटै फ्रेञ्चाइजी टोलीसँग सशक्त प्रदर्शन गर्न सक्ने छ ।

फ्रेञ्चाइजी खरिदमा सबैभन्दा बढी रकम खर्चिनुका साथै अन्तर्राष्ट्रिय रूपमा चर्चित क्रिकेट प्रशिक्षक तथा विदेशी ब्याट्सम्यान अनुबन्धन गरेको पोखरा एभेञ्जर्सले पहिलो संस्करणको एनपीएलको प्रदर्शन हेर्न खेल पर्खनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट