काठमाडौँ । गत असोज ११ र १२ गते आएको अविरल वर्षापछिको बाढी पहिरोमा परी काभ्रेमा ७८ जनाले ज्यान गुमाएका छन् । घटनामा परी छ जना अझै बेपत्ता छन् ।
खोजी गर्दा पनि फेला नपरेपछि बेपत्ता भएकाहरूको खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । बाढी पहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका २ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ छन् । उनीहरू घरले पुरिँदा बेपत्ता भएका हुन् ।
यस्तै, चौँरी देउराली गाउँपालिका ६ का ४० वर्षीया शान्ता रिमाल बेपत्ता छिन् । उनको एक हप्तासम्म खोजी भएको थियो । तर, फेला नपरेको प्रहरीले जनाएको छ ।
धुलिखेल नगरपालिका ८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ पनि अझै बेपत्ता रहेको जनाइएको छ । बेथान्चोक गाउँपालिका ४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका ६ की ३७ वर्षीया देवीमाया सिंतान बेपत्ता छन् ।
बेपत्ताको खोजी गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले जानकारी दिइन् । उनका अनुसार बाढी पहिरोमा परी ७५ जना घाइते भएका थिए ।
बाढी पहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना छन् । रोशीका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात÷सात तथा बनेपा र भुम्लुका तीन÷तीन जनाले ज्यान गुमाए । धुलिखेल नपाका दुई र चौँरी देउरालीका एक जनाले ज्यान गुमाएका छन् ।
काभ्रेपलाञ्चोकमा बाढी पहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी हुन् ।
सरकारले बाढी पहिरोमा मृतक परिवारलाई तत्काल उपलब्ध गराउने दुई लाख जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालकाअनुसार मृतक परिवारलाई सरकारले दशैँअघि क्षतिपूर्ति उपलब्ध गराएको हो ।