मीनबहादुरले दान दिएको जग्गाको मूल्य झण्डै ९० करोड !-Sutra News

मीनबहादुरले दान दिएको जग्गाको मूल्य झण्डै ९० करोड !

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले पार्टी कार्यालयमा बनाउन काठमाडौं उपत्यकाभित्रै झण्डै ११ रोपनी जग्गा दानस्वरुप पाएको घटनाले यतिबेला मुलुक तात्तिएको छ । कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा चर्चित व्यापारी मिनबहादुर गुरुङले एमालेलाई सित्तैमा दान स्वरुप उपलब्ध गराएका छन् ।



जहाँ दसैंको अष्टमीको दिन (असोज २५ गते) प्रधानमन्त्रीसमेत हरेका एमाले अध्यक्ष केपी शर्मा ओली र स्वयम् गुरुङले हिन्दु परम्पराअनुसार पुजाआजा गरी कार्यालय भवन शिल्यान्यास गरेका थिए । जहाँ छिट्टै एमालेले अत्याधुनिक सुविधासम्पन्न केन्द्रीय कार्यालय बनाउने बताएको छ ।

एमालेका महासचिव शंकर पोखरेलले बताएअनुसार अब उक्त जग्गामा एमालेले केन्द्रीय कार्यालय बनाउनेछ । महासचिव पोखरेलका अनुसार भवनको लागत र विस्तृत पक्ष तर्जुमाको चरणमा छ ।

एमालेले यसरी जग्गा प्राप्त गर्दै गर्दा राजनीतिक वृत्तमा केही प्रश्नहरु उठेका छन् । कतिपयले विरोध जनाएका छन् भने कतिपयले दान लिनेदिने विषय स्वभाविक भएको भन्दै बचाऊ गरेका छन् । यद्यपि, एमालेभित्रै पनि जग्गा लिनदेनको विषयलाई लिएर आपत्ति जनाइएको छ ।

जग्गा लेनदेनको विषयमा उठेका प्रश्नहरुलाई थाँती राख्दै हामीले जग्गाको मूल्यको पाटोलाई यहाँ जोडेका छौं । कतिपयले तोकेरै मूल्य बताइरहँदा स्थानीय कारोबार र सरकारी दररेटको अवस्थाबारे हामीले खोजेका छौं ।

एमालेले पाएको जग्गाको मूल्य कति ?

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमि व्यवस्थापन तथा अभिलेख विभाग प्रत्येक आर्थिक वर्षमा जग्गाको न्यूनतम दररेट तोकेको छ । विभागले आर्थिक वर्ष २०८१/०८२ का लागि तोकेको जग्गाको न्यूनतम मूल्यांकनअनुसार कीर्तिपुर नगरपालिका–२, मैत्रीनगर क्षेत्रमा आनाको न्यूनमत मूल्य आठ लाख ५० हजार रुपैयाँ पर्दछ ।

विभागको न्यूनतम रेटलाई आधार मान्दा गुरुङले एमालेलाई दानस्वरुप दिएको १० रोपनी १४ आना जग्गाको मूल्य १४ करोड ७९ लाख रुपैयाँ पर्दछ ।

तर, स्थानीय चलन चल्तीको मूल्य भने सरकारी मूल्यभन्दा धेरै गुणा माथि छ । कीर्तिपुर नगरपालिकाकी कार्यबहाक प्रमुख शुभ लक्ष्मी शाक्य (सुनीता)ले बताएअनुसार मैत्रीनगर क्षेत्रमा चलनचल्तीमा प्रतिआना न्यूनतम ५० लाख रुपैयाँ पर्दछ ।

“सरकारी न्यूनतम दररेटअनुसार कसैले पनि जग्गाको किनबेच गर्दैन, गुरुङले दान दिएको भनिएको मैत्रीनगर क्षेत्रमा सामान्यतया प्रतिआना ५० लाखभन्दा बढीमा किनबेच भइरहेको छ”, शाक्यले भनेकी छिन् ।

चलनचल्तीको न्यूनतम मूल्यअनुसार एमालेले पाएको १० रोपनी १४ आना जग्गाको न्यूनतम मूल्य ८७ करोड रुपैयाँ पर्न जान्छ । यद्यपि, जग्गा पासदेखि अन्य कुरामा करहरु जोडिँदा मूल्य केही बढ्न जाने देखिन्छ । स्थानीय सरकार, जिल्ला मालपोत कार्यालयले जग्गाको किनबेच वा स्वामित्व हस्तान्तरण गर्दै गर्दा केही प्रतिशत कर लगाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट