जब ट्याक्टर ‘रिजर्भ’ गरेर शव बोक्नु पर्ने बाध्यता छ !-Sutra News

जब ट्याक्टर ‘रिजर्भ’ गरेर शव बोक्नु पर्ने बाध्यता छ !

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नु पर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले १८ हजार रुपैयाँमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल लगेर बुबाको शव परीक्षण गराए ।



जिल्ला अस्पतालदेखि खार्मीसम्मको दूरी जम्मा १३ किलोमिटर मात्रै छ । अन्य सामग्री ढुवानी गर्दा बढीमा नौ हजार रुपैयाँमा ‘रिजर्भ’ गर्न पाइने ट्याक्टरले शव बोक्न दोब्बर भाडा लियो ।

यसअघि सोही प्रकृतिबाट मृत्यु भएकी खोटेहाङ गाउँपालिका ४ बडकादियालेकी ५५ वर्षीया गंगामाया विश्वकर्माको शव परीक्षणका लागि पनि ट्याक्टर रिजर्भ गरिएको थियो । कमजोर आर्थिक अवस्था भएकाले मृतकका आफन्तले चन्दा संकलन गरी ४५ हजारमा रिजर्भ गरी शव परीक्षण गर्न जिल्ला अस्पताल लगे ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी तथा आधारभूत अस्पताल इन्द्रेणी पोखरीमा कार्यरत डाक्टरहरू दशैँ बिदामा गएकाले ट्याक्टर रिजर्भ गरेर विश्वकर्माको शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याउनु परेको सो वडाका वडाध्यक्ष तिलकबहादुर बस्नेतले बताए ।

जिल्लामा एउटा पनि शव वाहन नहुँदा आत्महत्या तथा भवितव्यमा परेर ज्यान गुमाउने मृतकका आफन्तले चर्को मूल्यमा ट्याक्टर रिजर्भ गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउनु पर्ने बाध्यता छ ।

स्थानीय तहले करोडौँ मूल्यका सवारी साधन खरिद गरेको छ । तर, शव वाहन खरिद गर्न सकेका छैनन् । जस कारण शव परीक्षण गर्नु पर्ने प्रकृतिका मृतकका आफन्तले ट्याक्टर रिजर्भ गर्नु पर्ने बाध्यता छ ।

शव परीक्षण गराउँदासमेत कार्यालय सहयोगीले दुई हजार मागेर लगेको वडाध्यक्ष बस्नेतले बताउँछन् । उनले भने, “सरकारले निःशुल्क गरेको शव परीक्षणमा डाक्टरलाई सहयोग गर्ने कार्यालय सहयोगीले पैसा मागेर हैरान पार्दो रहेछ ।”

जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा जिल्लाका विभिन्न ठाउँमा १३ जनाले आत्महत्या गरेका छन् ।

ती सबैका परिवारले ट्याक्टरमा महंगो भाडा तिरेर शव बोकाउनु परेको गुनासो मृतक परिवारका आफन्तले गरेका छन् । वर्षभरि हुने यस्ता प्रकृतिका घटनामा पीडित परिवारले थप आर्थिक भार खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट