अक्सनमा भाग्यमानी लुम्बिनीको प्रदर्शन कस्तो होला, रोहितलाई शक्तिको साथ-Sutra News

अक्सनमा भाग्यमानी लुम्बिनीको प्रदर्शन कस्तो होला, रोहितलाई शक्तिको साथ

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वदायी भूमिकामा पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)लाई लिएर नेपाली क्रिकेटको समर्थक उत्साहित छन् ।



आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने पहिलो उपाधी भिडन्तमा जित्ने लक्ष्यसहित अक्सनमा सबैभन्दा धेरै रकम खर्चिएको लुम्बिनी लाइन्सले खर्चिएको छ ।

यस टोलीमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेका छन् । उनीसहित अनुभवी खेलाडी आबद्ध यो टोली एनपीएलमा सहभागी आठमध्ये सबैभन्दा बलियो टोलीका रूपमा देखिएको छ ।

दशैँअगाडि सम्पन्न अक्सनमा ८४ लाख ७५ हजार रकम खर्चिएको लुम्बिनीले ‘ए ग्रेड’का तीन खेलाडी सूर्य तामाङ, विवेक यादव र सन्दीप जोरालाई ‘लक्की ड्र’मार्फत अनुबन्ध गर्न सफल बन्यो ।

बायाँ हाते स्पिनर सूर्य तामाङ नेपालको घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट बलरका साथै उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए ।

त्यस्तै, विवेक यादव आक्रमक ब्याटिङका साथै तीव्र गतिको बलिङका लागि परिचित छन् । सन्दीप जोरा पनि मध्यक्रममा सबैभन्दा भर पर्दो ब्याटरको परिचय बनाएका छन् । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान उनकै नाममा छ ।

यस्तै, अक्सनमार्फत ‘बी ग्रेड’बाट अनुबन्ध गरेका आशुतोष घिरोहिया र अर्जुन साउद मध्यक्रममा राम्रो ब्याटिङ गर्न सक्षम छन् । जुन लुम्बिनीका लागि सबल पक्ष हो ।

अर्कोतिर नेपाली क्रिकेट इतिहासका सबैभन्दा उत्कृष्ट स्पिनरको परिचय बनाएका शक्ति गौचन लुम्बिनी लाइन्सको मुख्य प्रशिक्षक बनेका छन् ।

मार्की खेलाडी रोहित एक्लैले कीर्तिपुरस्थित क्रिकेट मैदानमा आफ्नो ब्याटिङ र कप्तानीको दममा टोलीलाई एक्लै जित दिलाउने निर्णायक हैसियत राख्नु लुम्बिनीको सबैभन्दा सबल पक्ष हो ।

ब्याटिङमा सशक्त देखिनको लुम्बिनी लाइन्स बलिङतर्फ केही कमजोर देखिएको छ । लुम्बिनीले अक्सनमार्फत तीव्र गतिका बलर विकाश आग्री, दिनेश अधिकारी र दुर्गेश गुप्ता तथा स्पिन आक्रमणतर्फ तिलक राज भण्डारी र अभिशेख गौतम अनुबन्ध गर्न सफल भएको छ ।

टोलीमा आबद्ध फास्ट बलरहरूले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाएका छैनन् । मध्यक्रममा रोहित र सूर्य तामाङले बलिङ गरे पनि सुरुवाती ‘पावर प्ले’मा खेलाउने बलरलाई लिएर दुविधा उत्पन्न हुन सक्छ ।

लुम्बिनी लाइन्सका मालिक ईश्वर जिसीले बलिङमा विदेशी खेलाडी अनुबन्ध गर्ने संकेत गरेका छन् । यद्यपि, एनपीएल अक्सनमा सबैभन्दा भाग्यमानी देखिएको टोलीले राष्ट्रिय टोलीका कप्तान रोहित र शक्ति गौचनको मुख्य नेतृत्वमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट