दर्शकले ‘पूर्णबहादुरको सारङ्गी’ के भनेर हेर्ने ?-Sutra News

दर्शकले ‘पूर्णबहादुरको सारङ्गी’ के भनेर हेर्ने ?

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

नेपाली कला क्षेत्रमा असाध्यै चर्चा कमाएका पात्र हुन्, प्रकाश सपुत । सफलताको मानकबाट हेर्दा, उनी निकै सफल पनि देखिन्छन् । केही थान लोकगीतबाट उदाएका सपूत छोटो अवधिमै ठुलो पर्दा मानिने चलचित्रमा समेत खेल्ने अवस्थामा पुगे ।



सपूत अहिले चलचित्रको मुख्य भूमिकामै अभिनय गर्न पाएका छन् । रोचक विषय, उनी आफैँ ‘गलबन्दी प्रोडक्सन’को नाममा फिल्म निर्माणमा समेत जोडिएका छन् ।

कला क्षेत्रमा निकै सफल सपूत, असाध्यै व्यस्तमध्येका कलाकारमा पनि पर्दछन् । सँगै उनी कला क्षेत्रमा मात्रै सीमित छैनन् । सपूत थुप्रै कर्पोरेट हाउसहरूसँग पनि जोडिएका छन् ।

उनी एकातिर विभिन्न कम्पनीको एम्बास्डरको भूमिकामा छन् भने अर्कोतिर उनी आबद्ध भएर थुप्रै विज्ञापनमूलक सामग्री पनि निर्माण भएका छन् । अहिले सपूत थुप्रै कम्पनीका विज्ञापनमा आबद्ध छन् ।

चर्चाको शिखरमा रहेका सपूतले अभिनय गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । विनोद पौडेलको निर्माण रहेको फिल्ममा सपूत र विजय बराल नै मुख्य भूमिकामा छन् ।

तर, आफैँ आबद्ध फिल्मप्रति सपूतलाई भने कुनै चासो छैन । सपूतले फिल्मलाई पूरै बेवास्ता गरिदिएका छन् ।

यतिसम्म कि फिल्मको पोस्टर, टिजर, ट्रेलर रिलिज हुँदा उनको निकै खोजी भयो, तर उनलाई भेटाउन सकिएन । स्वयम् निर्माण टिमसमेत उनको यो शैलीबाट दुःखी देखियो ।

ट्रेलर रिलिज कार्यक्रममा फिल्मका निर्माता विनोद पौडेलले निकै दुःख मनाउ गरेका थिए । पौडेलले पटक–पटक सम्पर्कको प्रयास गर्दा पनि सम्भव नभएको गुनासो गरेका थिए ।

खासमा फिल्म निर्माण पक्ष र सपूतबिच फिल्मको रिलिज मितिलाई लिएर समझदारी हुन नसकेको विषय बाहिरिएको थियो । सपूतले आफ्नै लगानीको फिल्म ‘बसन्त’लाई पहिला रिलिज गर्न चाहेको कुरा सुनिएको थियो ।

तर, सहमति नबन्दा उनी बिच्किएको हाे भन्ने ‘पूर्णबहादुरको सारङ्गी’काे टिमकाे कुरा छ ।

सपूतले ठिक गरे वा बेठिक गरे, त्यो आफ्नो पाटो होला, तर घटनाक्रमलाई हेर्दा उनले निकै सानो मन बनाएको देखिन्छ । अरुले सामाजिक सञ्जालमा राम्रो मानेर पोस्टर, टिजर, ट्रेलरसमेतलाई सेयर गर्दा सपूतले बेवास्ता गर्नुले अवस्था झल्काउँछ ।

प्रतिस्पर्धी फिल्मकर्मीले समेत एकअर्का फिल्मलाई शुभकामना दिइरहेको पाइन्छ । अरूको फिल्मका राम्रा पक्षबारे बोलिरहेको पाइन्छ । तर, सपूत गुमनाम देखिए । अरू त अरू उनी मिडियाबाट समेत भागिरहेका छन् ।

सबैले खोज्ने बनेका कलाकार, यसरी प्रश्नबाट भाग्नु सही होइन । यसरी सानो मन बनाउनु सही होइन ।

भोलि फिल्म चल्दै गर्दा आम दर्शक के भनेर फिल्म हेर्न जाने ? प्रकाश सपूतले नै अस्वीकार गरेको फिल्मलाई कसरी दर्शकले स्विकार्ने ? एक पटक सोंच्ने हो कि ?

प्रकाश सपुत जत्तिको पात्रले केही मानक राख्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट