दसैंसँगै बढेको सेयर बजारले अब कस्तो बाटो समाउला ?-Sutra News

दसैंसँगै बढेको सेयर बजारले अब कस्तो बाटो समाउला ?

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौं । प्रायः चाडपर्वको बेलामा सेयर बजार घट्ने गरेको उदाहरण छन् । यसअघिका वर्षहरुलाई केलाउँदा पनि चाडपर्वको समयमा बजारमा कारोबारसँगै सूचक घटेको देखिन्छ ।



यद्यपि, यसपटक निरन्तरतामा क्रमभङ्गको स्थिति बन्यो । दसैंअघिमात्रै होइन, पछि पनि नेप्से बढ्यो । बिहीबारसम्मको कारोबारको अवस्थालाई हेर्दा, अवस्था उत्साहजनक देखिन्छ ।

दसैंअघिको आठ कारोबार दिनमा झण्डै दुई सय अंकले बढेको नेप्से दसैंपछिको तीन कारोबार दिन पनि ८० अंक आसपासले बढ्यो । अर्को सकारात्मक पक्ष कारोबार रकम पनि उत्साह जगाउने गरी बढेको छ ।

बिहीबारसम्मको कारोबारलाई हेर्दा, नेप्सेमा झण्डै ७ अर्बसम्मको दैनिक कारोबार भएको छ । बिक्री चाप बढेपनि बिहीबारसमेत सूचक बढेको थियो ।

यसले आगामी बजारलाई थप उत्साहपूर्वक नै अगाडि बढाउने संकेत पनि गर्दछ ।

सँगै प्राविधिक पक्षलाई केलाउँदा, नेप्सेले जस्तो क्यान्डल बनाएको छ, यसले सामान्य करेक्सन हुँदै अघि बढ्ने जनाउँछ । बजारको ५० दिने मूभिङ एभरेजलाई नियालिएमा आगामी दिनमा पनि बजारले केही तलमाथि गर्दै अप ट्रेन्ड समात्ने देखाउँछ ।

सँगै, अहिलेको अवस्थामा केहि सकारात्मक आधारहरु पनि देखिएका छन्, जसले बजार बढ्नमा नै सघाउ पुर्‍याउँछ ।

सबैभन्दा महत्वपूर्ण कुरा, बैंकको ब्याजदर थप घटेको छ । ब्याजदर घट्नुको प्रभाव बजारमा पर्ने गरेको छ ।

अर्कोतर्फ, कम्पनीहरुले लाभांश घोषणा गर्दै साधारण सभा बोलाएका छन् । जसले पनि बजारलाई सकारात्मक प्रभाव पार्न सक्छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गर्दैछ । यसअघि नै सेयर बजार अनुकुल नीति लिएको केन्द्रीय बैंकले समीक्षामार्फत थप सहज हुने नीति लिने अपेक्षा आममा छ ।

स्वयम् गभर्नरले पनि मौद्रिक नीति समीक्षामा थप विषय सम्बोधन हुने बताएका थिए । जसआधारमा हेर्दा, बजारले थप उचाई लिने सम्भावना छ ।

यद्यपि, बजारले यही विश्लेषणकै आधारमा उचाई लिन्छ भन्न सकिन्न । कहिलेकाहीँ विभिन्न परिवेशले पनि बजारलाई प्रभावित पार्ने गर्दछ । स्वयम् लगानीकर्ताले समेत यस्ता विषयमा हेक्का राख्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट