हतासमा रास्वपा- रवि पक्राउ पर्ने संकेत पाएपछि नेता कार्यकर्ता परिचालन-Sutra News

हतासमा रास्वपा- रवि पक्राउ पर्ने संकेत पाएपछि नेता कार्यकर्ता परिचालन

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश समितिले आकस्मिक बैठक आह्वान गरेको छ । पार्टी सभापतिलाई प्रहरीले पक्राउ गर्न सक्ने भन्दै प्रदेश सभापतिको बैठक आह्वान गरिएको हो ।



सत्ता पक्षले गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेको भन्दै तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई सर्कुलर गरेको रास्वपाले प्रदेश समितिको बैठक बसेर थप छलफल गर्ने भएको हो ।

यसअघि पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले केन्द्रीय कार्यालयमा भेला हुन कार्यकर्तालाई आह्वान गरेकी थिइन् । सामाजिक सञ्जालमा उनले भनेकी छन्, ‘काठमाडौँ हुने रास्वपाका मित्रहरू चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भइदिनु होला, साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा बस्नु होला ।’

आज बिहान मात्रै नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भएको ब्रिफिङ गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दलको भूमिकामा बिहीबार प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बैठक बसेका थिए । उक्त बैठकबारे जानकारी दिने क्रममा रवि पक्राउ गर्ने तयारी भएको बताएका हुन् ।

प्रचण्डको ब्रिफिङपछि पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले विपक्षी दलहरूले आफूलाई साथ दिनु पर्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट