हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द-Sutra News

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मत सम्भार गर्नु पर्ने जनाउँदै तीन हप्ताका उत्पादन बन्द गरेको छ ।



बडादशैँको बिदालगत्तै उद्योग सञ्चालन गरिए पनि क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मत गर्नु पर्ने अवस्था आएकाले उत्पादन बन्द गर्नु परेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए । उपकरण मर्मत सकिएलगत्तै उत्पादन सुरु गरिने उनको भनाइ थियो ।

“उद्योगलाई आवश्यकपर्ने करिब चार सय मेट्रिक टन कच्चा पदार्थ कोइला जगेडा राखिएको र बाँकी थप कोइला खरिद गर्न बोलपत्र आह्वान गरी सम्बन्धित पक्षलाई स्वीकृति प्रदान गरिसकेका छौँ, त्यसैले मर्मत सकिएलगत्तै काम सुरु गर्छौं”, महाप्रबन्धक पाण्डेले भने ।

उक्त उद्योग करिब साढे दुई महिनाअघि आर्थिक अभावले बन्द भएकामा भदौ तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेर भण्डार गरिएको, अहिले उत्पादित सिमेन्टको बोरामा प्याकिङ गरी काठमाडौँलगायत विभिन्न सहरमा पठाउने काम भइरहेको नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

विं.सं. २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन श्री ५ सरकारले एक अर्ब ५० करोडको लगानीमा उद्योग स्थापना गरी ०४३ मंसिर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको थियो ।

हाल यस उद्योगमा प्रशासन, भण्डारण, बजार व्यवस्थापन, चुनढुङ्गा खानी र मजदुर कर्मचारीलगायत एक सय ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् ।

उद्योगसँग दैनिक क्षमता १८ हजार बोरा उत्पादन गर्ने भए पनि पछिल्लो समय १० हजार बोरामात्र उत्पादन हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट