देशव्यापी प्रदर्शन गर्दै रास्वपा, प्रतिपक्षी दल मौन हुँदा रविको राजनीतिक भविष्य के होला ?-Sutra News

देशव्यापी प्रदर्शन गर्दै रास्वपा, प्रतिपक्षी दल मौन हुँदा रविको राजनीतिक भविष्य के होला ?

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

काठमाडौँ । पार्टी स्थापनाको केही समयमा प्रतिनिधिसभाको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेसँगै देशको राजनीति तरंगित बनेको छ ।



आफ्ना पार्टी सभापति लामिछाने पक्राउ परेसँगै रास्वपाले पोखरा र काठमाडौँमा केन्द्रीय नेताहरूकै उपस्थितिमा विरोध प्रदर्शनको आयोजना गरेको छ । पार्टीले सबै जिल्ला प्रशासन कार्यालय केन्द्रीत भई विरोध प्रदर्शन गर्ने तयारी अगाडि बढाएको छ ।

रास्वपा सभापति लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्नुभन्दा केही घण्टाअगाडि प्रमुख प्रतिपक्षी दलहरूको बैठकमा यस घटनाबारे छलफल भएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठकमा रविको सम्भावित गिरफ्तारीबारे चर्चा गर्दा लामिछानेले विपक्षी दलको साथ खोजेका थिए । तर, विपक्षी दलहरूले बेवास्था गरेपछि रन्थनिएर पार्टी कार्यालय पुगेका उनी अन्ततः पक्राउ परे । प्रहरीले शनिबार बिहान ३ बजे कास्कीस्थित प्रहरी हिरासतमा पुर्‍याए ।

पक्राउ पर्नुअघि लामिछानेले आफूमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै राज्यको दादागिरीमा डटेर सामना गर्न आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिन भ्याए ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले निर्दोष देखाउँदा पनि राज्यले आफूलाई सबै शक्ति र स्रोत लगाएर पक्राउ गरेको दाबी गर्दै उनले कानूनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

शुक्रबार साँझ पक्राउ लामिछाने परेसँगै विरोध प्रर्दशन सुरु भएको थियो । शनिबार रातिदेखि उनको पक्षमा पोखरासहित देशका विभिन्न स्थानमा प्रर्दशन भइरहेको छ । पार्टीका जिम्मेवार नेताहरू तथा कार्यकर्ता पोखरामा जम्मा भएका छन् ।

सहकारी ठगीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि रास्वपाले सहकारी ठगीमा सभापति रविलाई ‘क्लिन चिट’ दिएको प्रचार गरिएको थियो ।

देशका ६० लाखभन्दा बढी बचतकर्ताको खर्बौं बचत अपचलन हुँदा लामिछाने मात्रै जिम्मेवारी छैन । उनीमाथि सहकारीमार्फत गैरकानूनी तवरबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकम खर्च गरेको अभियोग लागेको हो ।

उनी पक्राउ परेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको थियो । केही दिनअघि मात्रै व्यापारीसँग अर्बौं मूल्य पर्ने जग्गा लिएका ओलीमाथि नैतिक प्रश्न उठेको छ । सरकारको प्रतिवादी भई मुद्दा खेपिरहेका व्यक्तिसँग प्रधानमन्त्री ओलीले एकसाथ पुजा गरी जग्गासहित पार्टी कार्यालयको भवन लिँदै गर्दा आफ्नो नैतिकता हुँदैन ? भन्ने प्रश्न उठेको छ ।

सहकारी ठगीमा कांग्रेस उपसभापति धनराज गुरुङसहित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ॠषीकेश पोखरेललगायतका दर्जनौँ नेतामाथि कारबाहीको माग भएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भोलि आइतबार जिल्ला अदालत कास्कीमा पेश गरिँदै छ । प्रहरीले सहकारी ठगी प्रकरण र संगठित अपराधसमेतको अभियोगमा ३४ दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानूनी सुविधा छ ।

यसअघि सूर्य दर्शन सहकारी ठगीमा पक्राउ परेका उनकै सहकर्मी छविलाल जोशीलाई पनि अदालतले शुक्रबार मात्रै अनुसन्धानका लागि २० दिनको म्याद थप गरेको थियो । अब गोर्खा मिडियामा सहकर्मी भएका दुई जना एकसाथ हुने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट