काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतमा पेश गर्ने भएसँगै पोखरामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सहकारीको बचत ठगी गरेको आरोपमा गत शु्क्रबार काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई सोही दिन राति पोखरा लगिएको थियो । उनी पक्राउ परेसँगै रास्वपाका नेता तथा कार्यकर्ता र सहकारी पीडितहरूले आआफ्नो पक्षमा प्रर्दशन गरेका छन् ।
दुई पक्षको प्रर्दशन भएसँगै आन्दोलन भड्किन नदिन जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका दुई स्थानमा निषेधित क्षेत्र घोषणा गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
जसमा पोखराको सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्र समावेश गरिएको छ । सहिद चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।