रविले एक्लै ‘बज्र’ खेप्दा सबै विपक्षी ‘तमासे’ !-Sutra News

रविले एक्लै ‘बज्र’ खेप्दा सबै विपक्षी ‘तमासे’ !

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौं । शुक्रबार बिहान एकाएक विपक्षी दलहरु एक ठाउँमा जुटे । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा संघीय संसद भवनमा विपक्षी दलहरु छलफलमा जुटेका थिए ।



दलहरुले सरकारको तीन महिने समीक्षासँगै सम्भावित कदमहरुबारे छलफल गरे । जुन छलफलमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको पक्राउ पुर्जी जारी र राजनीतिक दलसम्बन्धी अध्यादेशको विषय प्रमुखतामा परेको थियो ।

झण्डै दुई घण्टा बढी चलेको छलफलपछि दलहरुले ६ बुँदे निर्णय गरेका थिए । जसमा विपक्षी दलको तर्फबाट तीन सदस्यीय संयन्त्र गठनको सहमति पनि भएको थियो ।

संयन्त्रमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन् ।

रास्वपाका नेता विराजभक्त श्रेष्ठले जानकारी दिएअनुसार बैठकमा सरकारका प्रत्येक कदममा सामूहिक प्रतिवाद गर्ने सहमति भएको थियो ।

तर, दलहरुबिच भएको सहमति एक दिन पनि टिकेन । विपक्षी दलहरुबिच सहमति भएकै दिन रास्वपा सभापति रवि लामिछाने पक्राउ परे, तर जसमा विपक्षी दलहरुको कुनै प्रतिक्रिया आएन ।

स्वयम् लामिछाने र रास्वपा एक्लै प्रतिवादमा उत्रिँदा अन्य दलहरु तमासे मात्रै देखिए । लामिछानेको विषय कानुनी बनाइएको छ र अहिले कानुनी प्रक्रिया अघि बढेको छ ।

साना तथा विपक्षी दलहरुलाई चिन्ताको अर्को विषय, राजनीतिक दलसम्बन्धी अध्यादेश हो । जसले सबैभन्दा बढी एकीकृत समाजवादीलाई चिन्तित बनाएको छ भने सत्तारुढ गठबन्धनभित्रै साना दल पनि सो विषयमा चिन्तित देखिएका छन् ।

विशेषगरी महाधिवेशनदेखि नै एकीकृत समाजवादीभित्र विवाद छ । पछिल्लो समय असन्तुष्ट नेताहरु समूह नै बाँधेर विभाजनको तयारीमा उभिएका छन् । यस्तोमा उनीहरुलाई कानुनी झमेला परेको छ । जसमा सरकारबाट अध्यादेश जारी गरी एकीकृत समाजवादी फुटाउने सम्भावना अधिक छ ।

तर, अध्यादेश जारी गरिएमा पनि विपक्षी दलहरु तमासे बन्दैनन् भन्ने देखिन्न । रवि पक्राउमा मौनधारण गरेजस्तै अध्यादेशमा पनि अन्य दलले मौनधारण गर्ने सम्भावना देखिएको छ ।

प्रत्येकका आफ्नै स्वार्थ

अहिले विशेषगरी प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलाई टीआरसीको विषय मुख्य बनेको देखिन्छ । जसलाई कार्यान्वयन गराउने गरी स्वयम् प्रचण्ड सक्रियपूर्वक लागिरहेका छन् ।

यता, एकीकृत समाजवादीसहित केही दललाई राजनीतिक दलसम्बन्धी अध्यादेशको विषय महत्वपूर्ण बनेको छ । राप्रपालगायतलाई संविधान संशोधनको विषय महत्वपूर्ण बन्दा रास्वपालाई कसरी पार्टी सभापतिलाई जोगाउने भन्ने चिन्ता देखिन्छ ।

राजनीतिक विश्लेषक मुकुन्द आचार्य विपक्षी समूहमा दलमात्रै फरक नभई प्रत्येकका स्वार्थ पनि फरक रहेको बताउँछन् । आ–आफ्नै फरक स्वार्थका कारण कमजोर रहेको र सत्ता गठबन्धनले थप खेल्ने मौका पाइरहेको उनको बुझाई छ ।

“नाममा विपक्षी समूह हो, प्रत्येकको स्वार्थ फरक छ, दीर्घकालिन मात्रै होइन, तत्कालिन नै स्वार्थ बाझिन्छ”, आचार्य भन्छन्, “रवि पक्राउमा जसरी मौनता देखियो त्यस्तै अन्य घटनामा पनि देखिन सक्छ । किनकि सत्ताले एउटालाई एकातिर मनाउँदै अर्कोलाई अर्कोतिर हान्न सक्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट