क्यानडामा चल्न नसकेको नेपाली टोली अमेरिकामा चम्किँदै-Sutra News

क्यानडामा चल्न नसकेको नेपाली टोली अमेरिकामा चम्किँदै

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौँ । एक दशकपछि आईसीसी टी-२० विश्वकपमा नेदरल्याण्डस्, दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध सानदार प्रदर्शन गर्दै विश्व क्रिकेटमा उत्कृष्ट छवि बनाउन सफल भएको नेपालको खेल खस्किँदै गएको थियो ।



गत हप्ता क्यानडामा सम्पन्न त्रिदेशीय आईसीसी विश्वकप लिग-२ सिरिजमा नेपालको लज्जास्पद प्रदर्शन गरेको थियो । सन्दीप लामिछाने र गुल्सन झाबाहेक अरू खेलाडीले सम्झनलायक खेल प्रस्तुत गर्न सकेनन् ।

त्रिकोणात्मक टी-२० सिरिजमा ओमानविरुद्ध जित निकाल्नुबाहेक क्यानडासँग लगातार चार खेलको पराजय भाग्नु पर्यो । अघिल्लो वर्ष घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्दै आईसीसी विश्वकप लिग-२ मा दुई हार तथा नेदरल्यान्ड्सविरुद्ध एक हार तथा एक जितसहित प्रतियोगिताको सुरुवात गरेको थियो ।

आईसीसी विश्वकप लिग-२ को प्रतिस्पर्धापछिको त्रिकोणात्मक टी-२० सिरिजमा थोरै सुधारिएको प्रदर्शन गरेको नेपालले क्यानडा ‘ए’ विरुद्धका चार अभ्यास खेल पनि सोचेजस्तो हुन सकेन ।

यसैबीच क्यानडाबाटै अमेरिका प्रस्थान गरेको नेपाली टोलीमा सन्दीप लामिछाने छुटे । अमेरिकाले भिसा नदिएपछि उनी स्वदेश फिर्ता भएका थिए । सन्दीपबिना अमेरिका प्रस्थान गरेको नेपाली टोलीले अमेरिकासँग त्रिकोणात्मक टी-२० खेलिरहेको छ ।

तर, शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध सहज जित निकालेको थियो । अमेरिका १७ रनले पराजित हुँदा नेपालले १६४ रन बनाएको थियो ।

आइतबार बिहान सम्पन्न अमेरिकाविरुद्धको दोस्रो भिडन्तमा नेपालले ठूलो स्कोर खडा गर्न सफल भयो । ५४ बलको मद्दतमा ९२ रन बनाएर कुशल भुर्तेल नटआउट बने ।

पछिल्लो समयमा रन बनाउन नसकेको भन्दै आलोचना खेप्दै आएका कुशलले सानदार पारी खेल्दा नेपालको जित सुनिश्चित बनेको थियो । उनकै ब्याटिङमा नेपालले १७० रन बनाएको थियो ।

उनलाई ओपनर अनिल साहले २५ रन बनाएर साथ दिएका थिए भने गुल्सन झाले १९ र कप्तान रोहित पौडेले १८ रन थपे । मैदानमा पुगेका बाँकी चार खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ अनुभवी खेलाडी सोमपाल कामीले अमेरिकाले जितिसकेको खेललाई बराबरीमा मात्रै रोकेनन् । सुपर ओभरमा अमेरिकालाई निरीह पार्दै सिरिजको उपाधि आफ्नै पोल्टामा ल्याए ।

अमेरिकाको डालासस्थित ग्रान्ड पियरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले सम्मानजनक स्कोर खडा गरे पनि जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाका लागि कडा टक्कर दियो ।

दोस्रो विकेटका लागि साइतेजा मुखमल्ला र आन्द्रेस गौसले ९२ रनको साझेदारी गर्दा नेपाल हार नजिक पुगेको थियो । यस अवस्थामा दिपेन्द्रसिंह ऐरीले साइतेजाको विकेट लिन सफल भए । यता, आन्द्रेसलाई सोमपाल कामीले ६२ रनको व्यक्तिगत स्कोरमा पेभिलियन फर्काए ।

सिरिजमा पहिलो जित निकाल्दै खेल बराबारीमा ल्याउन खोजेको अमेरिका निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाउन सफल भयो । योसँगै खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा बलिङ गरेका सोमपालले आफ्नो करियरकै उत्कृष्ट बलिङ गर्दै दुई रन खर्चेर दुई विकेट लिए । सुरुको दुई बलमा रन दिएका उनले तेस्रो र चौथो बलमा लगातार विकेट लिएपछि नेपालले जम्मा तीन रनको लक्ष्य पाएको थियो ।

सुपर ओभरमा जित निकाले उपाधि रक्षा गर्न मैदानमा उत्रिएको नेपालले २ बलअगावै लक्ष्य पूरा गरेको थियो । जसमा कप्तान रोहितले दुई रन बनाउँदा कुशलले एक रनको योदान दिए ।

योसँगै पछिल्लो समयमा गतिलो प्रदर्शन गर्न नसकेका नेपाली टोलीका लयमा फर्किएको आभास भएको छ । अमेरिकाविरुद्ध लगातार दुई जित निकाल्न सफल नेपालले सोमबार बिहान अन्तिम खेल खेल्दै छ ।

आफ्नै देशमा आयोजित टी २० विश्वकपमा ‘पावर हाउस’ मानिने पाकिस्तानलाई समेत हराउँदै अन्तिम आठमा प्रवेश गरेको अमेरिका नेपालको खेलमा निरिह बनेको छ ।

योसँगै सन् २०२७ को विश्वकप छनौट र आफ्नो एक दिवसीय मान्यता जोगाउन निकै महत्त्वपूर्ण रहेको आईसीसी विश्वकप लिग २ मा अमेरिका र स्कटल्याण्ड जस्ता बलिया प्रतिस्पर्धीलाई पराजित गर्दै अंक तालिकामा आफूलाई अब्बल प्रमाणित गर्नु पर्ने छ ।

यो सिरिजअघि अमेरिकामाथि दबदबा बनाएको नेपाली टोलीको मनोबल उच्च बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट