तनावग्रस्त पोखरा : रवि समर्थक र सहकारी पीडित आमने–सामने-Sutra News

तनावग्रस्त पोखरा : रवि समर्थक र सहकारी पीडित आमने–सामने

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ । शुक्रबार पक्राउ परेका लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि अदालतमा पेश गराइएको हो ।



पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी आरोपहरु लगाइएको छ ।

लामिछानेलाई अदालतमा पेश गर्दै गर्दा पोखरा तनावग्रस्त छ । सम्भावित घटनालाई लिएर निषेधाज्ञा जारी गरिएपनि पोखरामा लामिछाने समर्थक र सहकारी पीडितहरु बेग्ला–बेग्लैरुपमा सडकमा निस्किएका छन् ।

लामिछाने पक्षधरले उनी निर्दोष भएको र न्याय दिनुपर्ने माग गरेका छन् भने सहकारी पीडितहरुले कारबाहीको माग गरेका छन् । ठूलो संख्यामा दुवै पक्ष प्रदर्शनमा उत्रि पोखरा भने तनावग्रस्त अवस्थामा पुगेको छ । कतिपय ठाउँमा प्रहरीसँग झडपको अवस्थासमेत निम्तिएको छ ।

अहिले दुवै खालका प्रदर्शनकारी अदालतअघि राष्ट्र बैंक चोकमा जम्मा भएका छन् ।

शुक्रबार पक्राउ परेका लामिछानेलाई शनिबार सार्वजनिक बिदा भएको कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट