काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको थियो ।
उक्त समस्या आज समाधान भइ सेवा प्रवाह सुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो ।
प्रवक्ता ढकालले भने, “वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो, आज समस्या समाधानपछि सेवा सुरु भइसकेको छ ।”
सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भए पनि इमेल तथा भौतिक रुपमा उपस्थित भई दिएको निवेदन संकलन निरन्तर रुपमा भइरहेको उनको भनाइ थियो ।