आलोचनापछि शंकर पोखरेलले भने– एमाले कस्तो बनाउने भन्ने एमालेजनलाई थाहा छ-Sutra News

आलोचनापछि शंकर पोखरेलले भने– एमाले कस्तो बनाउने भन्ने एमालेजनलाई थाहा छ

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको बारेमा अरुले चिन्ता गर्नन नपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले अन्य पार्टीभित्रका नेता तथा कार्यकर्ताले एमालेको बारेमा आलोचना गरेको भन्दै यस्तो बताएका हुन् ।



“यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा (एमाले)को भविष्यका वारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरुले आ–आफ्नो पार्टी राम्रो बनाउन लागेत अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि !”, पोखरेलले लेखेका छन्, “नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले)लाई राम्ररी थाह छ ।”

पोखरेलले जनचाहनाअनुसार एमाले अघि बढिरहेको भन्दै उनले के गर्ने भन्ने विषय आगामी दिनमा पनि एमालेले जनताबै सुझाव लिएर बढ्ने बताए । “जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा (एमाले)ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ”, उनले भनेका छन्, “जनताका वीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेरनै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ । समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।”

पार्टी ठिक वा बेठिक भन्ने कुरा चुनावबाट थाहा हुने भन्दै उनले सामाजिक सञ्जालबाट परीक्षण नगर्न सुझाव दिएका छन् । “कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो, त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ”, उनले भनेका छन् ।

विवादित व्यापारी मिनबहादुर गुरुङसँग जग्गा लेनदेनको विषय बाहिरिएपछि एमालेप्रति आमरुपमा आलोचना भइरहेको छ । चौतर्फी आलोचना भइरहेका बेला पोखरेलले निर्णयको बचाउ गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट