‘अर्गानिक’ स्वाद दिने ‘पूर्णबहादुरको सारङ्गी’को दमदार ट्रेलर-Sutra News

‘अर्गानिक’ स्वाद दिने ‘पूर्णबहादुरको सारङ्गी’को दमदार ट्रेलर

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौं । नाटकबाट फिल्ममा भित्रिएका विजय बराललाई जीवन्त अभिनय गर्न सक्ने कलाकारका रूपमा चिनिन्छ । ‘कबड्डी’ सिरिजबाट फिल्ममा डेब्यु गरेका बरालले योबिचमा थुप्रै सफल फिल्ममा अभिनय गर्ने मौका पाए । सहायक रोलमै भए पनि उनको प्रस्तुतिले धेरैको मन जित्यो ।



उनै बराल लिड रोलमा अभिनय गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ यति बेला रिलिजको तयारीमा छ । तिहारलाई लक्षित गरी कात्तिक १५ मा रिलिज गर्ने तयारी गरिएको फिल्मको टिजर, ट्रेलर र केही गीत सार्वजनिक भएका छन् । जसले आमरूपमा निकै चर्चा बटुलिरहेको छ ।

बराल लिड रोलमा रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटालगायतको अभिनय छ ।

सार्वजनिक ट्रेलरलाई हेर्दा, समग्र फिल्म गन्धर्व समुदायको कथामा केन्द्रित भएको बुझ्न गाह्रो छैन । जुगौंदेखि उत्पीडनमा रहेका गन्धर्व समुदायभित्रको आर्थिक तथा सामाजिक अवस्थासँगै फिल्मले उनीहरूले भागेको शोषणको अवस्थालाई देखाउन खोजेको पाइन्छ ।

३ मिनेट २६ सेकेन्डको ट्रेलरले समग्र कथा बोल्छ । फिल्मको ट्रेलरलाई हेर्दा, विगतको नेपाली समाजलाई देखाउन खोजिएको आभास हुन्छ । फिल्ममा कलाकार जुन पहिरनमा देखिन्छन्, यसले केही दशक अगाडिको नेपाली समाजको झल्को दिन्छ ।

सारङ्गी बजाउने पुस्त्यौली कर्म, कर्मले दिएको पीडा र नयाँ पुस्तामा हुन नसकेको निरन्तरतालाई कथामा देखाइएको छ । हजुरबाले बाबुलाई सारङ्गी बजाउने पाठ पढाएर छोडे, छोराले सम्हाले तर, नाति पुस्तासम्म आउँदा त्यसले निरन्तरता पाउन सकेन । नाति पुस्ताले विकल्प खाेजेको कथा ट्रेलरमा देखिन्छ । जुन पछिल्लो नेपाली समाजको यथार्थता पनि हो ।

सारङ्गी बजाउने कर्मले जिविका मात्रै होइन, स्वाभिमानमा पनि प्रश्न उठाएको कुरा ट्रेलरमा देखाइएको छ । अभावसँग जुधेको परिवारले समाजबाट पाएको अपमानको अवस्थालाई चित्रण गरिएको छ ।

“बा तिमीलाई सबले किन हप्काउँछन् ?”, एउटा छोराले सारङ्गी बजाउने बाउलाई सोधेको प्रश्नले नै कथाको मर्मलाई बोल्छ ।

पृष्ठभूमिमा बज्ने सङ्गीत, संवाद र पात्रका पहिरनले हाम्रो माटो बोल्छ । नेपाली समाजले भोगेको वास्तविकतालाई बोल्छ । जो पीडित छन्, दबिएका छन्, जो हेपिएका छन्, जो चेपिएका छन्, उनीहरूको कथा बोल्छ ।

भन्नमा कन्जुस्याइँ गर्नुपर्दैन, ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरमा हाम्रो माटोको गन्ध आउँछ ।

छोटो ट्रेलरले पूर्ण कथा बोलेको छ । ट्रेलरले दर्शकलाई भावुक बनाइदिने क्षमता राख्दा, पूर्ण फिल्मले कत्तिको मन छोला ? त्यो बाँकी नै छ । यद्यपि, ट्रेलर हेर्दा, फिल्म दमदार नहोला भन्न सकिन्न । शुभकामना फिल्म टिमलाई !

सम्बन्धित समाचार

युट्युबको ट्रेन्डिङमा ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर, तीन दिनै झण्डै ७ लाख भ्यूज

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट