स्वास्थ्य बिमामा आकर्षण बढ्दै-Sutra News

स्वास्थ्य बिमामा आकर्षण बढ्दै

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१
Family health care and insurance concept

काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रममा बागलुङका एक लाख २६ हजार ३९९ जना आबद्ध भएका छन् । विं.सं. २०७३ आसरदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको संख्या वृद्धि भएको हो ।



धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा लागु भएकाले बिमामा आबद्ध हुनेको संख्यामा वृद्धि भइरहेको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।

पौडेलकाअनुसार स्वास्थ्य बिमामा आबद्धमध्ये ६६ हजार ८३९ महिला र ५९ हजार ५६० पुरुष छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि एक लाख सम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले नागरिक बिमामा आकर्षित भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको संख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजारले स्वास्थ्य बिमा गराएका छन्, एक पटक प्रमियिम तिरेपछि वर्षभरी सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।”

दुई लाख ४९ हजार २११ जनसंख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गराइसकेका छन् । स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि धौलागिरि अञ्चल अस्पतालमा बिरामीको सङ्ख्यामा तेब्बरले वृद्धि भएको छ ।

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक तीन हजार पाँच सय तिर्नु पर्ने र पाँचभन्दा बढी परिवारका सदस्यको हकमा प्रति सदस्य सात सयका दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट