प्रचण्डकाे आराेप : ओली सरकार विराेधीलाई खोजीखोजी सिध्याउने खेलमा लाग्याे-Sutra News

प्रचण्डकाे आराेप : ओली सरकार विराेधीलाई खोजीखोजी सिध्याउने खेलमा लाग्याे

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका नाममा आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाएका छन्। कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि भन्दै मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समितिको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।



ओली आफ्नालाई बचाउने तर, विराेधीलाई खोजीखोजी सिध्याउने शैलीमा अघि बढेको जिकिर प्रचण्डकाे छ ।

बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै उनले भने– ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’

सरकारले गर्नुपर्ने काम नगरेको तर, गर्न नहुने काममा बढी ध्यान दिएको आरोप प्रचण्डकाे छ । सरकारकाे १०० दिने अवधि जनविराेधी देखिएकाे र जनतामा चरम निराशा बढाएकाे प्रचण्डकाे भनाइ छ ।

उनले उद्योगहरूबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैँ भ्रष्टाचारीको संरक्षकका रूपमा प्रस्तुत भएको आरोप प्रचण्डले लगाए। जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित राजनीतिक उपलब्धिमाथि प्रहार हुन थालेकाले अब सडकबाट दबाब दिनुपर्ने अवस्था आएकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट