रास्वपालाई सुझाव : रविमाथि निष्पक्ष छानबिन हुन देऊ, सडकमा तमासा नगर !-Sutra News

रास्वपालाई सुझाव : रविमाथि निष्पक्ष छानबिन हुन देऊ, सडकमा तमासा नगर !

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

रवि लामिछाने पक्राउ हुनु न खुसीको कुरा हो, न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन । रवि पक्राउ पर्दा चाहिँ के आकाश खस्छ ? अवश्य खस्दैन । कानुनको दायरामा आएपछि प्रदर्शन गर्नु कानुनी राज्यको उपहास र शक्ति पृथकीकरणको अपमान सिवाय केही होइन । कानुनी प्रतिवाद नै एक मात्र विकल्प हो । राजनीतिक कोलाहल त भइरहन्छ । तातो न छारोको नौटङ्की काम छैन । नथाकुन्जेल गरेमा भन्नु त केही छैन । सरकार मरेको होइन, सक्रिय भएको हो । 



रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिराहिया नक्कली नागरिकता काण्डमा धनुषा जिल्ला अदालतको आदेशले प्रकाउ पर्दा, न्यायालयले गरेको भन्यौँ । हामीले होइन, अदालतले हो भनेर उम्किएको रास्वपाले आज कुन मुखले सरकारले पक्राउ गरेको भन्दैछ रविलाई ? बकाईदा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले त कार्यान्वयन मात्रै गरेको हो । यो दोहोरो चरित्र किन र केका लागि ?

सबैभन्दा अचम्मको कुरा त पार्टी गठनपछिको काममा यो सब भएको भए पनि ल ठिक छ, हाम्रो दलमाथि षड्यन्त्र भयो भनेर बुर्कुसी मारेको सुहाउँथ्यो होला पनि । एक व्यक्तिले आफ्नो पेसागत जीवनमा गरेको कारोबारमा चलेको मुद्दामा बाँकी त्यसपछि गठित दलका २० जना सांसद र सिङ्गो कार्यसमिति बचाउमा ज्यान फालेर लाग्छ । न्यायालयलाई सडकबाट तर्साउने यो खेल निन्दनीय छ । वैकल्पिक राजनीति शक्ति भनेर आफ्नो परिचय दिन मन पराउने पार्टीको रवैया त पुरानाभन्दा नि तल्लो स्तरको छ ।

टायर बाल्नेलाई गाली गरेर, उदाएको पार्टीले फगत एक जना (सभापति) जो बारम्बार कहिले आफ्नै सहकर्मीको आत्महत्या दुरुत्साहन, नागरिकता र पासपोर्ट काण्ड र सहकारी ठगी तथा सङ्गठित अपराधमा संलग्नलाई बचाउन, टायर बाल्दै हिँडेका छन् । सहकारी ठगीका नाउँमा रवि लामिछाने मात्र पक्राउ परेका छैनन्, अरू कयौँ पक्राउ परेका छन् । अनुसन्धानमा तानिएका छन् । कोही सर्वसाधारण राजनीतिक पृष्ठभूमि नभएका पनि छन् । कि राजनीति गरेकालाई चाहिँ अनुसन्धान गर्न नपाइने हो ? नेपाल प्रहरीकै पूर्व डिआइजी छविलाल जोशी पक्राउ पर्दा, के पूर्व प्रहरीको संगठनले कुनै प्रकारको विज्ञप्ति निकाले ? पक्कै निकालेनन् ।

पोखरामा रवि लामिछानेको समर्थनमा निकालिएको ¥यालीलाई सम्बोधन गर्दै रास्वपा पार्टीका सहप्रवक्ता मनिष झाले निकै उत्तेजनात्मक अभिव्यक्ति दिएछन् ! मनिष झा खरो उत्रनुको बाध्यता हामीलाई पनि थाहा छ । रवि लामिछानेको समर्थकको अधिकतम क्रेडिट कस्ले लिने भन्ने होडबाजी छ रास्वपा भित्र । मुखिया जुठो परेको बेला उनका भाइहरू पनि सम्हालिनुपर्ने हो तर, यहाँ उपदेश दिनु बेकार छ । एकातिर मनिषा झाले सुशासनका लागि आफू शहीद हुने कुरो गर्छन्, अर्कातिर सहकारीको ठगी भएको रकमको भागबन्डा लगाएर रवि दाइको अंशमा तीन करोड पनि छुट्याएछन् । आफैलाई विद्धान भनेरै नथाक्ने मनिष झाले प्रष्ट बुझिनेगरी यसो भनेछन्– ६५ करोड ५४ लाख गोर्खा मिडियामा ल्याएको छ, रबी दाइको कार्यकाललाई आधार मान्दा उहाँको कार्यकालमा उहाँको भागमा पर्ने जम्मा तीन करोड हो ।

मनिष झाको भाषण गर्ने कलाले विगतको महेश बस्नेतको उत्तेजनालाई समेत मात खुवाएको छ । उनले भनेका छन्, “रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि तयार छु ।” कस्ले रविलाई सोधे हुन्थ्यो कि उ मर्न तयार छ कि छैन ? रगत सडकलाई होइन, रक्तदान केन्द्रलाई चाहिएको छ । रगत बगाउने मन छ भने, सडकमा होइन्, रक्तदान केन्द्रमा गएर बगाउनु होला ।

अरे माननीय मनिष झा राजनीति गर्न आएका हुन् न कि मनिष बाबा बनेर प्रवचन दिन  ? पञ्चतन्त्रको कथा हालेर नैतिक शिक्षा पिलाउने हैन । मनिषमा भिडको बौद्धिक स्तर बुझेर ताली पाउने चलाखी आइसकेको छ । कसरी भिडलाई आकर्षित गर्न सकिन्छ भन्ने ज्ञान मनिषले सिकिसकेको देखिन्छ ।

महेश बस्नेतले बरु ‘केपी ओलीले आदेश दिए, म धरहराबाट पनि हाम फाल्न तयार छु’ भनेका थिए । उनी त्यहाँबाट हामफालेको भए के हुन्थ्यो, थाहा छैन तर, मनिष झाले त आफू मर्नै तयार भएको भन्दिए । कम्तीमा सडकको उपस्थिति त पार्टीको सभापतिको लागि हो भनेर बुझाउन सक्नुर्‍थ्यो । खैर चचा , नारा, सम्बोधन फगत ‘रवि दाइ, हाई – हाई, केपी ओली, गगन थापा मुर्दावाद मुर्दावाद’ मै सीमित भएछ ।

अब अर्को र्‍यालीमा अझै उत्तेजित भाषण गर्नुपर्छ मनिष जी र भन्दिनुपर्छ कि ‘रवि दाइले सहकारी ठग्दा पाएको रकम जम्मा तीन करोड हो । त्यो पैसाले आजको जमानामा के हुन्छ ? उहाँले चाहेको भए अरब पनि खान सक्नुहुन्थ्यो तर, खानु भएन । म बरु रास्वपा छोड्न सक्छु, घण्टीलाई त्याग्न सक्छु, मेरो विवेक बन्धक राख्न सक्छु तर मलाई पार्टी होइन, रास्वपा होइन, फगत व्यक्ति रवि दाइ चाहिन्छ । किनकि म अङ्गीकृत रास्वपा हुँ । यी हिजो देखिनै लागेका वंशज रास्वपाभन्दा म थप चर्को र थप क्रान्तिकारी देखिनुछ ।’

सरकारले जबरजस्ती फसाउन आँटेको हो भने सभापतिलाई पक्रिन किन दिएको ? पक्राउ परि नै सकेपछि र कानुन तथा न्यायालयलाई सहयोग गरिन्छ भनिसकेपछि फेरि यो सडकको चटक किन देखाएको ? कति ठाउँमा आन्दोलन भयो ? कति ठाउँमा टायर बालिए ? अरू कति ठाउँमा र कति दिनसम्म बाल्ने योजना छ ? हाम्रो पार्टीको नीति र निर्देशन विपरीत हो त्यो भनेको भरमा जबाफदेहिताबाट पन्छिन मिल्छ ? स्वाभाविक हो, दल बनेको दुई वर्षमा सभापति दुई/दुई पटक कानुनको कठघरामा उभिनुपर्दाको पीडा होला जरुर, तर सुसंस्कृत राजनीतिको नमुना सिकाउन आएकाहरूका यी सामाजिक सञ्जालमा छरिएका दृश्यहरू साँच्चिकै मेरो पुस्तालाई देखाउने हो भने र ’चिन्यौ, यो कराउने मानिस मनिष अङ्कल हो नि’ भन्यो भने उसले यसलाई सुसंस्कृत प्रस्तुतिको रूपमा चिन्ला कि उद्दण्ड भनेर चिन्ला ? एक पटक सोच्नुहोस् त शान्त भएर ।

रवि लामिछाने “थाहा छैन” बाट संसदीय छानबिन समिति हुँदै न्यायिक हिरासतमा पुगेका छन् । सरकारले उनलाई ‘करुणा’मा छाड्न पक्राऊ गरेको देखिँदैन । कानुनभन्दा माथि कोही पनि छैन । रास्वपाले एक झुन्ड झैं गरी कानुनबमोजिम पक्राऊ परेकाको बचाऊमा उत्रिनुभन्दा पनि सम्मानित अदालतको निर्णयलाई पर्खनुको विकल्प छैन । उसले भ्रष्ट्राचारी देखेका व्यक्तिहरू विरुद्ध र काण्डहरू विरुद्ध अदुअआ र सिआईबिमा मुद्दाहरू दर्ता गर्नु उचित हुन्छ । खाली होहल्ला वा प्रपोगण्डा मात्रै गरेर मुलुकलाई केही फाइदा छैन, सुशासन कहीँ पनि पुग्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट