‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’: विपिन र वर्षासँगै चर्चित कलाकारकाे अभिनय-Sutra News

‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’: विपिन र वर्षासँगै चर्चित कलाकारकाे अभिनय

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडाैं । शंकर घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो…’ सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा सिनेमाकी मुख्य अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ ।



सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले श्रृंखलाबद्ध रुपमा प्रचार सामाग्रीहरु पोस्टर तथा गीतहरु सार्वजनिक गरिरहेको छ । सिनेमाको यसअघि केही पोस्टर तथा ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीत सार्वजनिक गरिएका थिए । मंगलबार सार्वजनिक गरिएको गीत अमेरिकामा खिचिएको हो ।

अञ्जु पन्त र आशिष अविरलको गायन रहेको गीतमा एक नारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ ।

शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अमेरिकामा रहँदै आएका कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर प्रस्तुत छन् । उनीहरुसँगै सिनेमाका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेलाई पनि भिडियोमा फिचर्ड छन् । सिनेमाको सार्वजनिक गीतले दर्शकमाझ उत्सुकता पैदा गर्ने देखिन्छ ।

सिनेमाको गीत रिलिज कार्यक्रममा ऋचाले १० वर्षपछि नेपाली सिनेमा काम गर्दा एकदमै उर्जा महसुस भएको अनुभव सुनाइन् । उनी भन्छिन्, ‘सिनेमा नखेल्दा वा नबनाउँदा अक्सिजनको कमी हुने वा बाँच्नका लागि दिन कम हुने त होइन । तर, आफूलाई मन परेको काम गर्दा एकदमै उर्जा आउने रहेछ । १० वर्षपछि सिनेमा गर्दा त्यो महसुस गरेकी छु । यस्तो लाग्यो मेरो झुकाव र लगाव सिनेमाप्रति नै रहेछ ।’

‘तेल भिसा’को छायांकन पश्चात नाटक खेल्न अमेरिका पुगेकी अभिनेत्री वर्षा राउत पनि सिनेमाको गीत रिलिज कार्यक्रममा उपस्थित थिइन् । उनी अमेरिकामा मञ्चन भैरहेको नाटकको कामलाई केही समयलाई स्थगित गर्दै यो सिनेमाको प्रचार र दशैं तिहार मनाउन नेपाल फर्केकी हुन् ।

भाइटीकाको भोली पल्टै उनी नाटक खेल्न फेरी अमेरिका उड्ने तयारीमा छिन् । यो हप्ता उनी यो सिनेमाको प्रचारमा व्यस्त हुने तालिका रहेको गीत रिलिज कार्यक्रममा जानकारी दिइन् ।

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमामा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ । यो सिनेमामा विपिनले बुबा र छोराको गरी दोहोरो भूमिका निभाएका छन् । उनी यतिवेला उनको स्वीटर सिनेमाको छायांकनको लागि पाँचथरमा रहेकाले यो सिनेमाको गीत रिलिज कार्यक्रममा उपस्थित थिएनन् ।

वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । सिनेमाको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् । सिनेमामा सुशन प्रजापतिको छायांकन छ । सिनेमाको ट्रेलर आगामी आइतबार गर्ने तयारी निर्माण टिमको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट