काठमाडौँ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा तीन वटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल हुन् ।
शिखको पोखरेबगर- पाउद्धार सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका ५ र ६ मा पर्ने घारखोलामा संघीय सरकारको तीन करोड ४८ लाखको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो ।
यसैगरी शिखको निरवाङ र किन्द जोड्ने ३४४ दशमलव आठ मिटर लामो झोलुङ्गे पुल पनि संघीय सरकारकै बजेटमा निर्माण भएको हो । पुलबाट शिख, किन्दु, धोस्केखोरिया, घिरवाङ र पाउद्वारका बासिन्दालाई आवागन सहज भएको छ । यो पुल एक करोड ५० लाख लागतमा निर्माण भएको हो ।
स्वाँतको खोपा खोलामा पनि ३० लाखको लागतमा ६० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।