बाटो खुलेको २५ वर्षपछि कालोपत्र हुँदै-Sutra News

बाटो खुलेको २५ वर्षपछि कालोपत्र हुँदै

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका ६ को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि कालोपत्र भएको छ । बेनी नगरपालिकाले बेनी-पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरेको हो ।



बेनी ६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार २०५६ सालमा सडक निर्माण गरिएको हो । सडक स्तरोन्नति भएपछि आवतजावत गर्न सहज भएको छ । यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३४ लाख ६६ हजार नौ सय २९ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

सात सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय २५ मिटर ढलान, सात सय मिटर पानीका निकाका लागि नाली र छ सय मिटर पर्खाल निर्माण भएको छ ।

यो सडकले बेनी नगरपालिका-६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका-५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ । साथै, गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले १० करोड १६ लाख एक हजार तीन सय ६४ को लागतमा बेनी-पाखापानी सडकको भुतेदैला-नेप्टेचौर-तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा तीन करोड बजेट विनियोजन गरेको बेनी-पात्लेखेत सडकको तोरीपानीबाट पात्लेखेततर्फ स्तरोन्नतिको तयारी गरेको नगरप्रमुख सुरत केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट