काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अनुसन्धानका लागि दिएको ६ दिनको म्याद बुधबार सकिएकाले पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
अदालतले लामिछानेलाई थप म्याद थप्ने वा नथप्ने भन्ने आज निर्णय गर्नेछ । यसअघि अदालतले कात्तिक ४ गते पक्राउ परेकै दिनदेखि लागू हुनेगरी लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की प्रहरीलाई अनुमति दिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो ।
लामिछानेसँगै सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतमा उपस्थित गराइएको छ । असोज ६ मा पक्राउ परेका जाेशीलाई थप अनुसन्धानका लागि भन्दै म्याद थप गर्न माग गरिएकाे हाे ।