पोखरामा रास्वपाको आन्दोलन किन कमजोर बन्यो ?-Sutra News

पोखरामा रास्वपाको आन्दोलन किन कमजोर बन्यो ?

बिहिबार, ८ कार्तिक २०८१

बिहिबार, ८ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा म्याद थप गर्नका लागि उपस्थित गराइएको छ । सहकारीको बचत हिनामिनासँगै संगठित अपराध गरेको अरोपमा प्रहरी हिरासतमा रहेका उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।



गत शुक्रबार काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेसँगै उनलाई रातारात गरी कास्की लगिएको थियो । आइतबार मात्रै अदालतमा उपस्थित गराइएका उनलाई अनुसन्धान गर्न ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।

पूर्वउप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालतमा लगिएसँगै पोखरामा रहेका रास्वपाका नेता तथा कार्यकर्ताहरू काठमाडौँ फर्किएका छन् । राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आन्दोतिल भएका रास्वपा समर्थित प्रदर्शनकारीहरू काठमाडौँ फर्किएका हुन् ।

पार्टी आन्दोलनको बलमा आफ्नो सभापतिलाई छुटाउने रणनीतिसहित पोखरा केन्द्रित आन्दोलन गरिरहेको रास्वपाले पोखरेली जनताको अपेक्षित साथ नपाएपछि आन्दोलन कमजोर हुँदै गएको छ । पोखरामा रहेका जनताहरू आफूले सहकारीमा जम्मा गरेको रकम हिनाहिना भएसँगै लामिछानेको विरुद्धमा आन्दोलनमा उत्रिएका छन् ।

प्रहरीले लामिछानेसँगै उनकै पूर्व व्यवसायिक साझेदार छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा एकसाथ लगिएको छ । यतिबेला रवि र छविलाई म्याद थप्ने वा नथप्ने भन्ने विषयमा बहस जारी छ ।

पार्टी सभापतिलाई फेरि अदालतबाट हिरासतमा राख्ने म्याद थप हुने भएसँगै रास्वपाले बिहीबार बिहान पत्रकार सम्मेलन गरेको थियो । यस क्रममा आफ्ना पार्टी सभापतिलाई ६ दिन हिरासतमा राखेर केही घण्टा मात्रै बयान लिएर कागजात नपुगेको बहाना गरेको भन्दै आक्रोश पोखेको थियो ।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापतिलाई सरकारले हिरासत बसाई मात्रै लम्ब्याउन खोजेको आरोप लगाउन भ्याएका थिए । पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री मनिष झाले आफूहरू पार्टी सभापतिलाई छुटाउन पोखरा नआएको दाबी गर्न भ्याए ।

रास्वपाले संयमित भएर विरोध प्रदर्शन गरिरहेको भन्दै नेकपा एमाले र कांग्रेसका कार्यकर्ताहरू सहकारी पीडितको मुकुट ओढेर सडकमा उत्रिने गरेको उनको आरोप थियो ।

आन्दोलनमा रास्वपाले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा एमालेका सांसद एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ॠषीकेश पोखरेललगायतका सहकारी ठगीको आरोपीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन दबाब दिने रणनीति बनाएको स्पष्ट पारेको थियो ।

पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्बिएसँगै सुस्त बनेको रास्वपाको आन्दोलन आगामी दिनमा राजधानीमा केन्द्रीय हुने भएको छ । यसैबीच सत्तारुढ दुई ठूला दल कांग्रेस र एमालेले रास्वपाको आन्दोलनको आलोचना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट