काठमाडौं । साताको अन्तिम कारोबार पनि सेयर बजार परिसूचक (नेप्से) घटेर बन्द भएको छ । साताको सुरुवातदेखि नै ओरालोमा देखिएको नेप्से अन्तिम कारोबार दिन १८.२५ अंकले घटेर बन्द भएको हो । बिहीबारको गिरावटसँगै नेप्से २६२७.१४ को बिन्दुमा झरेको छ ।
सूचक घट्दै गर्दा बिहीबार कारोबार रकम पनि घट्यो । एक अर्ब २२ करोड ८३ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँमै सीमित भयो ।
यसअघि बुधबार छ अर्ब १५ करोड रुपैयाँमाथिको सेयर किनबेच भएको थियो ।
बिहीबार हाइड्रो बाहेकका सबै समूहका सूचक घटे । हाइड्रो ०.३६ प्रतिशतले बढ्दा बाँकी सबै समूहका सूचकमा गिरावट आयो ।
कारोबारमा आएका २४४ कम्पनीमध्ये ६७ को मूल्य बढ्दा १७०को मूल्य घट्यो भने सात कम्पनीको स्थिर रह्यो ।
उच्च अंकले नेप्से घट्दै गर्दा पनि आज एसबिआई बैंकको ९.७५ प्रतिशतले मूल्य बढ्यो भने पिपुल्स हाइड्रोको मूल्यमा ८.०५ प्रतिशतले बृद्धि भयो । यद्यपि, यस दिन रावा इनर्जीको मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो ।
कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्स, साहस उर्जा, आइसीएफसी फाइनान्सलगायत शीर्ष स्थानमा रहे ।
साताको पहिलो कारोबार दिन आइतबार नै ४७.४४ अंकले घटेको नेप्से सोमबार ५७.९९ अंकले घटेको थियो । मंगलबार २५.८८ अंकले बढेपनि बुधबार पुनः २०.४१ अंकले घट्यो भने बिहीबार पनि १८.२५ अंकले घट्दै गिरावटलाई निरन्तरता दियो ।
विशेषगरी राजनीतिक क्षेत्रमा भएका परिवर्तनका घटनाहरुले नेप्से प्रभावित भएको देखिन्छ । बिहीबारसम्मको कारोबारले मनोविज्ञान सकारात्मक नबनेको देखाउँछ ।