काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा नगर्न आग्रह गरे ।
जिप्रका काठमाडौँले कानूनविपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने तथा खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण कार्य नगर्न र नगराउन पनि अनुरोध गरेको छ ।
“कानूनले निषेध गरेका गतिविधि गरे र गराएमा कानूनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ”, सूचनामा भनिएको छ । तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौँले सबैलाई आग्रह गरेको छ ।