काठमाडौँ । सहकारी ठगीसहित संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृह मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तिहार प्रहरी हिरासतमै हुने भएको छ ।
दशैँअगाडि प्रहरी हिरासतमा रहेका लामिछानेका पूर्व व्यवसायिक साझेदार सूर्य दर्शन सहकारी प्रकरणमा पक्राउ परेका सबैको तिहार हिरासतमै बस्ने तय भएको हो ।
सहकारी ठगीमा अनुसन्धान गरिरहेको प्रहरीलाई आगामी कात्तिक १४ गतेसम्म प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्ने तय भएसँगै सोही दिनदेखि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु हुनेछ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले आज रवि लामिछानेलाई थप एक साता हिरासतमा राख्न अनुमति दिएका थिए ।
पोखराको सूर्य दर्शनसहित देशभरका आधा दर्जन सहकारीबाट बचतकर्ताको करोडौँ रकम अपचलन गरेका मुख्य आरोपी जीबी राई प्रहरी अनुसन्धानको दायरामा आए सरकारलाई ठूलो राहत हुनेछ ।
यता, आफ्ना पार्टी सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गर्दै सडक आन्दोलनमा रहेको रास्वपाका नेता तथा कार्यकर्ताले पोखरा केन्द्रीत आन्दोलन स्थगित गर्ने भएको छ ।
रास्वपाले अब काठमाडौँ केन्द्रीत भएर आन्दोलनको तयारी गरेको हो । यसैबीच पीडित पक्षले सभापति लामिछाने पक्राउ परेसँगै आफूहरूको बचत फिर्ता पाउनु पर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।