काठमाडाैं । सत्तारुढ दलहरूको बैठक शुक्रबार पनि बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । साथै, मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि बैठकमा हुने बताइएको छ ।
यसअघि बुधबार मात्रै सत्तारूढ दलहरूकाे बैठक बसेकाे थियाे । शुक्रबारकाे बैठक विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित रहेकाे बुझिएकाे छ ।
सँगै, डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको बक्याैता विवादमा प्राधिकरणले पुनः लाइन काटेपछिकाे अवस्थाबारे साझा धारणा बनाउने तयारी सत्तारूढ दलहरूकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन नमानेकाे भन्दै यसअघि नै कुलमान घिसिङलाई कारबाही गर्ने तयारी गरेका थिए ।