काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिने काम गराईप्रति सन्तुष्ट रहेको बताएका छन् । एक समाचार एजेन्सीलाई सरकारको ‘हिनमुन’ पिरियडबारे प्रतिक्रिया दिँदै देउवाले यस्तो बताएका हुन् ।
सरकारको कामलाई लिएर असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको उनले बताएका छन् । सरकारको कामलाई लिएर कांग्रेस असन्तुष्ट भएको चर्चाका बिच देउवाले त्यस्तो चर्चा व्यर्थ भएको बताएका हुन् ।
“कहाँ कांग्रेस असन्तुष्ट छ ? कसले भन्यो असन्तुष्ट भनेर ?”, देउवाको प्रश्न छ, “असन्तुष्ट हुनु कुरै छैन नि त्यो त, सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो। त्यस्तो केही छैन ।”
सरकारबाट आफ्नो क्षमताअनुसार काम भइरहेको टिप्पणी देउवाले गरेका छन् । “सय दिनलाई मैले त राम्रो मानेको छु, राम्रो काम गरेको छ, राम्रो काम गरिरहेको छ”, उनले भनेका छन्, “बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ, हेलिकप्टरबाट पनि उद्धार गरेको हो ।”
प्रधानमन्त्री केपी शर्मा ओली आफूसँग भएको सहमतिअनुसार नै अघि बढिरहेको पनि दाबी देउवाले गरेका छन् । उनले सहमतिअनुसार नै ओलीले सत्ता सुम्पिने विश्वास पनि व्यक्त गरेका छन् ।
“दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो”, देउवाले भनेका छन् ।
सरकारको काम गराईलाई लिएर सत्ता साझेदार कांग्रेस असन्तुष्ट रहेको चर्चा चलेको थियो । कांग्रेसका केही नेताहरुले पनि सार्वजनिकरुपमा असन्तुष्टि प्रकट गरेका थिए । सभापति देउवाले आमप्रश्नलाई चिर्दै सरकारको प्रशंशा गरेका छन् । यसले सत्ता साझेदारबिच दुरी नबढेको संकेत गरेको छ ।