काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको छ । साताको पहिलो कारोबार दिन (आइतबार) तोलामै १४ सय रुपैयाँले बढ्दै सुनको मूल्यले कीर्तिमानी बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि कात्तिक ७ मा सुनको मूल्यले कीर्तिमानी बनाएको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेकाे थियाे ।
त्यसयता भने सुनको मूल्य घट्दै शुक्रवारसम्म आइपुग्दा एक लाख ६६ हजार रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्य बढिरहँदा आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवारको तुलनामा प्रतितोला १५ रुपैयाँले बढ्दै चाँदी प्रतितोला २ हजार ८५ रुपैयाँ कायम भएको छ ।
यसअघि कात्तिक ७ मा चाँदीको मूल्य प्रतितोला दुई हजार १३५ रुपैयाँ थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २७४८ डलरमा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढिरहँदा स्थानीय बजारमा पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो । विशेषगरी आसन्न अमेरिकी राष्ट्रपतीय चुनाव र मध्यपूर्वी देशमा देखिएको संकटको प्रभाव अन्तर्राष्ट्रिय तहमै सुनको माग बढेको छ । जसको प्रभाव मूल्य बढिरहेको छ ।