किन बढ्यो बैंकहरूमा खराब कर्जाको अनुपात ?-Sutra News

किन बढ्यो बैंकहरूमा खराब कर्जाको अनुपात ?

पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री भन्छन्– नियामकीय निकाय समस्या समाधान होइन, टाल्न लाग्यो

आइतबार, ११ कार्तिक २०८१

आइतबार, ११ कार्तिक २०८१

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको खराब कर्जाको स्तर जोखिम तहमा पुगेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको खराब कर्जाको अनुपात नै ४ प्रतिशत हाराहारी पुगेको छ ।



जसमा तीन बैंकको खराब कर्जाले जोखिमको तहलाई पार गरेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज र सिटिजन बैंक परेका छन् ।

इन्भेष्टमेन्टको खराब कर्जा अनुपात ५.८५ प्रतिशत पुग्दा लक्ष्मी सनराइजको ५.४४ र सिटिजन बैंकको ५.४१ प्रतिशत नाघेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा इन्भेष्टमेन्टको खराब कर्जा अनुपात ४.९५ प्रतिशत थियो भने लक्ष्मी बैंकको ४.७२ र सिटिजनको ४.०७ प्रतिशत थियो । गत आर्थिक वर्षको समीक्षा अवधिमा पनि यी तीन बैंक सबैभन्दा उच्च खराब कर्जा हुने बैंकमा परेका थिए ।

सार्वजनिक विवरणलाई हेर्दा, पछिल्लो समीक्षा अवधिसम्म आउँदा बैंकहरुको खराब कर्जाको तह थप बढिरहेको देखाउँछ । जसले बैंकहरु थप समस्यामा पर्दै गएको पनि संकेत गरेको छ ।

राष्ट्र बैंकले पाँच प्रतिशतभन्दा माथिको खराब कर्जाको अनुपातलाई जोखिमयुक्त मान्ने गरेको छ । जुन तहमा पुगेका बैंकले लाभांश वितरण मात्रै होइन, व्यवसाय विस्तार गर्नसमेत पाउँदैनन् । सँगै ऋण असुली गर्नमा केन्द्रित हुनुपर्छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार खराब वर्गमा वर्गीकरण भएका कर्जाहरुको शतप्रतिशत नै कर्जा नोक्सानी व्यवस्था गर्नुपर्छ । यस्तो अवस्थामा बैंकहरु थप दबाबमा पर्न पुग्छन् ।

कुन बैंकको अवस्था कस्तो ?

नेपाल इभेष्टमेन्ट मेघा बैंक, लक्ष्मी सनराइज र सिटिजन बैंकको खराब कर्जाको अनुपात पाँच प्रतिशतभन्दा माथि हुँदा आठ बैंकको खराब कर्जाको अनुपात चार प्रतिशत माथि पुगेको छ भने तीन बैंकको तीन प्रतिशतभन्दा माथि पुगेको छ । छ बैंकको खराब कर्जाको स्तर भने सामान्य तहमा छ ।

हिमालयन बैंकको ४.९८, कुमारी बैंकको ४.९६, प्रभु बैंकको ४.९४, प्राइम कमर्सीयल बैंकको ४.८६, कृषि विकास बैंकको ४.७८, ग्लोबल आइएमई बैंकको ४.६७, एनआइसी एसियाको ४.२४ र राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत खराब कर्जाको अनुपात पुगेको छ ।

यस्तै, नेपाल बैंक लिमिटेडको ३.९५, सिद्धार्थ बैंकको ३.९१ र एनएमबी बैंकको ३.६३ प्रतिशत खराब कर्जाको अनुपात पुगेको छ ।

यस्तै, स्टार्डड च्यार्टड बैंकको १.९५, एसबिआई बैंकको १.८४, नबिल बैंकको १.४२ र सानिमा बैंकको १.३८ प्रतिशत खराब कर्जाको तह छ । माछापुच्छ्रेको १.१३ र एभरेष्ट बैंकको ०.७७ प्रतिशत कायम भएको छ ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा स्टार्डड च्यार्डट बैंक, एसबिआइ, नबिल र सानिमाले खराब कर्जाको धेरै तहलाई घटाएका छन् । जसमा सबैभन्दा बढी नबिल बैंकले ३.८५ प्रतिशतबाट १.४२ प्रतिशतमा खराब कर्जाको तहलाई झारेको छ ।

पूर्वगर्भनर क्षेत्री भन्छन्– खराब नीतिले समस्या बढायाे

विगत केही वर्षदेखि नै बैंकहरुमा खराब कर्जाको स्तर अधिक छ । पछिल्लो तीन वर्षको विवरणलाई हेर्दा, खराब कर्जाको स्तर घट्दो होइन, बढ्दो अवस्थामा छ ।

बैंकिङ्ग क्षेत्रका जानकार नियामकीय निकायको भूमिका फितलो हुँदा खराब कर्जाको स्तर नघटेको बताउँछन् । पूर्वगर्भनरसमेत रहेका अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीका अनुसार केन्द्रीय बैंकले आवश्यक निमायकीय भूमिका निर्वाह नगर्दा नै बैंकहरुको अवस्था कमजोर बनिरहेको छ । उनका अनुसार खराब कर्जा न्यूनिकरण गर्ने सन्दर्भमा केन्द्रीय बैंकले कुनै नीति लिएन ।

“खराब कर्जा अहिले बढेको होइन, विगत केही वर्षदेखि नै बढिरहेको छ, जुन घट्ने होइन बढ्ने स्थिति मात्रै बनिरह्यो”, क्षेत्रीले भनेका छन्, “किन बढ्यो र किन घटेन, त्यसतर्फ नीति बनाइएन, स्वभाविक ब्याज र साँवा नघटेपछि ऋण बढ्छ नै ।”

केन्द्रीय बैंकले बैंकहरुलाई सक्रिय बनाउने गरी होइन, निष्क्रिय बनाउने काम गरेको क्षेत्रीको बुझाई छ । जसको कारण नै नन पर्फमिङ्ग एसेस्ट क्रमिकरुपमा बढ्दो रहेको उनले बताए । यसरी खराब कर्जाको स्तर बढ्दै जाँदा बैंकहरुले राम्रोसँग कार्य गर्ने अवस्था नहुने बुझाई क्षेत्रीको छ ।

क्षेत्री अगाडि भन्छन्, “यस्तो अवस्था विकास भइरहेमा बैंकहरुले राम्रोसँग काम गर्न सक्दैनन्, खराब कर्जाको जे–जति अनुपात छ, सोबराबर रकम अन्यत्रतर्फबाट छुट्याएर राख्नुपर्छ, त्यो भनेको स्थिर रकम थप बढ्नु हो । त्यसले बैंकलाई थप दबाबमा राख्छ ।”

केन्द्रीय बैंकले आफ्नो नीतिलाई पुनरावलोकन गर्न आवश्यक रहेको क्षेत्रीको बुझाई छ । “बैंकहरु डुब्नु हुँदैन भन्ने नीति त लियो तर, बैंकहरुलाई कसरी क्रियाशिल बनाउने भनेर टाक्स दिएन, अब पनि टाक्स दिएन भने समस्या थप विकराल हुन्छ”, क्षेत्रीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट