काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । आइतबार ९.१९ अंकले घट्दै नेप्से २६१७.९५ को बिन्दुमा ओर्लिएको छ ।
१३ समूहमध्ये आठ समूहको सूचक घट्दा पाँच समूहको सूचक बढ्यो । सबैभन्दा बढी बैंकिङ्ग समूहको सूचक १.३० प्रतिशतले घट्दा सबैभन्दा बढी फाइनान्स समूहको सूचक १.११ प्रतिशतले बढ्यो ।
कारोबारमा आएका २४३ कम्पनीमध्ये १४० को मूल्य घट्दा ९२ को मूल्य बढ्यो भने ११ को मूल्य स्थिर रह्यो ।
समग्रमा नेप्से घटेपनि आज पाँच कम्पनीको मूल्य भने सर्किट लेबलमा बृद्धि भयो । लाइफ इन्स्योरेन्स कर्पोरेशन, रिभर फल्स, माइ खोला, समृद्धि फाइनान्स र कालिन्चोक केवलकारको मूल्य सर्किट लेबलमा बढेको छ ।
निरन्तरको गिरावटको प्रभाव आज कारोबार रकम भने बढ्न सकेन । १ करोड ११ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँको भयो ।
दसैंअघिका केही कारोबार दिन र दसैंपछिका केही कारोबार दिन लगातार बढेको नेप्से गत साता भने भारी अंकले घट्यो । एक कारोबार दिनमा नेप्से बढ्दा अन्य दिनमा उच्च अंकले नेप्से घट्यो ।
आइतबारसम्म आउँदा सामान्य उतारचढावको बिच एकल अंकले नेप्से घटेको छ । सँगै केही कम्पनीको मूल्यमा उत्साहजनक बृद्धि भएको छ । यसले नेप्सेको पहिरो क्रमश थामिँदै गरेको संकेत गर्दछ । यद्यपि, मनोविज्ञान भने अझै परिपक्क नभएको पनि स्पष्ट पार्दछ ।