त्रिदेशीय शृङ्खलामा नेपालले टी-२० को लय कायम राख्न सक्ला ?-Sutra News

त्रिदेशीय शृङ्खलामा नेपालले टी-२० को लय कायम राख्न सक्ला ?

आइतबार, ११ कार्तिक २०८१

आइतबार, ११ कार्तिक २०८१

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट लिग-२ को खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । स्कटल्याण्डसहितको त्रिदेशीय शृङ्खला अमेरिकामा जारी छ ।



अमेरिका र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीयको टोली सार्वजनिक गरेको थियो । क्यानले सार्वजनिक गरेको टोलीमा क्यानडामा खेलेका खेलाडीलाई समावेश गरिएको छ ।

यसअघि अमेरिकासँग भएको त्रिकोणात्मक खेलमा लेग स्पिनर सन्दीप लामिछाने सहभागी थिएनन् । बलात्कारको आरोप लागेसँगै उनलाई अमेरिकाले भिसा दिन अस्वीकार गर्दै आएको थियो ।

उच्च अदालत पाटनले सन्दीपलाई सफाई दिए पनि भिसा दिन आनाकानी गरेको अमेरिकारले नेपालको महान्यायाधीवक्ताको कार्यालयले समेत आगामी दिनमा उनीविरुद्ध मुद्दा नचल्ने जानकारी दिएपछि भिसा दिएको हो । अमेरिका जाने भिसा पाएसँगै उनी अमेरिका पुगेका थिए । यसैबीच आजदेखि हुने खेलमा उनी टोलीमा सहभागी हुने भएका छन् ।

अमेरिकासँग सम्पन्न त्रिकोणात्मक टी २० खेलमा सन्दीपमा अनुपस्थितिमा मौका पाएका सागर ढकाल बेञ्चमा हुने भएका छन् । औसत प्रदर्शन गरेका उनीसँगै देव खनाललाई पनि बेञ्चमा राखिएको छ ।

खेलाडीको भूमिका कस्तो होला ?

यसअघि क्यानडामा सम्पन्न लिग २ को चार खेलमा नेपालले लज्जास्पद हार बेहोर्दै शृङ्खला सकेको थियो । क्यानडासँग नेपाल पहिलो खेलमा १०३ रनको फराकिलो अन्तरले पराजित हुँदा दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो । ओमानविरुद्ध एक हार भएको नेपाल अर्को खेलमा वर्षाका कारण अंक बाँड्न बाध्य भएको थियो ।

क्यानडाको शृङ्खलामा नेपाली खेलाडीको भूमिकामा ठूलो फेरबदल गरिएको थियो । ओपनरमा खेल्दै आएका कुशल भुर्तेललाई अन्तिमतिर ब्याटिङ गर्न लगाइएको थियो । यस शृङ्खलामा ठूलो मौका अनिल साहले पाए । उनले अर्का ओपनरको भूमिकामा खेल्दै आएका आसिफ शेखलाई साथ दिँदै ओपनरको भूमिका आए ।

क्यानडामा सम्पन्न शृङ्खलामा खेलाडीको भूमिकामा ठूलो फेरबदल एक प्रयोग मात्र बनेको देखिन्छ । यस खेलमा नेपालभन्दा कमजोर मानिएको क्यानडासँग लज्जास्पद हार बेहोर्नु पर्यो । यसबीच कप्तान रोहित पौडेल, सन्दीप र अलराउण्डर गुल्सन झाले सम्झनलायक प्रदर्शन गरे ।

अमेरिकामा हुने लिग २ को शृङ्खलामा कुशल भुर्तेलले ओपनरमा फर्किने सम्भावना देखाएका छन् । यसअघि अमेरिकासँग भएको त्रिदेशीय टी २० शृङ्खलामा तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले एउटै खेलमा ९२ रनसमेत बनाउन सके । शृङ्खलाको अन्तिम खेलमा ४० रन बनाएका भुर्तेलले पहिलो खेलमा १० रन बनाएका थिए ।

अमेरिकामा हुने लिग २ को खेलअघि भुर्तेलले आफूलाई शीर्ष वरियताको खेलाडी भएको प्रमाणित गरेसँगै खेलाडीहरुको भूमिका परिवर्तन हुने निश्चित भएको छ । योसँगै ओपनरमा रहेका तीन खेलाडीमध्ये को-को जाने भन्ने रोचक बनेको छ ।

टोलीका अन्य खेलाडीमा भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुल्सन झा र रिजन ढकाल छन् ।

अमेरिकामा नेपालको उच्च मनोबल

नेपालले लिग २ को पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग भिड्दै छ । राति ९ः१५ बजे सुरु हुने खेलमा अमेरिकाविरुद्ध नेपाली टोलीले उच्च मनोबल बनाएको छ ।

यसअघि अमेरिकी भूमिमा घरेलु टोलीविरुद्ध सम्पन्न टी २० क्रिकेटमा नेपालले ‘क्लिन स्वीप’ गरेको थियो । जसले गर्दा नेपाली टोलीले उच्च मनोबल बनाएको छ । यस सिरिजमा नेपालले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । यस शृङ्खलामा नेपालले बलियो टोली स्कटल्याण्डसँग कसरी प्रदर्शन गर्नेछ भन्ने हेर्न बाँकी छ ।

आईसीसी विश्वकप लिग २ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् । नेपाल आईसीसी विश्वकप लिग २ को अंक तालिकामा सातौँ स्थानमा छ । हालसम्म खेलेका आठ खेलमा एक जित, एक बराबरी र ६ खेलमा हार बेहोरेको छ ।

यस्तै, अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हार बेहोर्दै १२ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्याण्डले हालसम्म आठ खेल खेलेको छ । जसबाट पाँच खेलमा जित र दुईमा हार बेहोर्दै अंक तालिकामा चौथो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट