काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड, फूलहरूको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ । आफ्ना दाजुभाइलाई स्थानीय स्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो ।
विर्तामोड नगरपालिका ९ की सुष्मा भण्डारीले १० कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेकी छन् । “यसवर्ष फूलखेती राम्रो सप्रेको थियो, वर्षाका कारण धेरै बिरुवा मरे,” उनले भने, “सोच जति फूल फूलाउन सकिएन, मालाको माग धेरै छ तर उत्पादन कम भयो ।”
भण्डारीले विगतमा जस्तै फूलको एक महिनाअघि माग आइरहे र उत्पादन कम भएकाले पुर्याउने अवस्था नरहेको बताए । फूल प्रतिकेजी ३५० का दरले फूलको मूल्य तोकिएको छ ।
नेपालमा फूलको उत्पादन वृद्धि नहुँदा भारतबाट महँगोमा आयात गरेर माग धान्नु परिरहेको व्यापारीहरू बताउँछन् । पुष्प व्यवसायी भण्डारी फूलमाथिको परनिर्भरता हटाउन किसानलाई व्यावसायिक फूल खेतीतर्फ आकर्षित गर्न स्थानीय सरकारले अग्रसर हुनु पर्ने बताए ।
विगतमा जिल्लामा २० बिघाभन्दा बढी जमिनमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आए पनि यस वर्ष भने घटेको अनुमान छ ।
मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायत किसानले पाँच कठ्ठादेखि एक बिघामा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती गरिरहेका छन् ।