काठमाडौँ । घरेलु मैदानमा नेपाली समर्थकको अभूतपूर्व साथ रहेको खेलमा चिरपरिचित प्रतिद्वन्दी भारतमाथि पेनाल्टी सुटआउटमा ४-२ गोलले जित निकाल्दै महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’, गीता राना, सविता रानामगर र अमिसा कार्कीले गोल गरे । नेपालको फाइनलमा स्थान सुरक्षित हुँदा भारतीय कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी प्रहार असफल बन्यो । योसँगै नेपालले साफ महिला फुटबलका सात संस्करणमध्ये छैटौँ पटक फाइनलमा स्थान बनाउन सफल बन्यो ।
साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले अब अर्को प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्ने छ । आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा भुटानमाथि ७-१ को एकपक्षीय जित निकाल्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको हो । योसँगै नेपाल र बंगलादेश उपाधिका लागि भिड्ने तयारीमा छन् ।
भारतविरुद्धको खेलमा नेपालले स्तब्ध, हर्ष विभोर, तनाव, मौनता अनि अन्तिममा उत्साह कुनै फिल्मीको दृश्यभन्दा कम रहेन । करिब तीन घण्टाको समयसम्म चलेको यो खेलमा नेपाली हर्ष विभोर भए । नेपाल र भारतबीचको प्रतिस्पर्धा यो हदसम्म पुग्छ ? भन्ने कसैले अनुमानसमेत गरेका थिएनन् ।
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदासम्म स्थिति सामान्य थियो । तर, ५२ औँ मिनेटमा रेखा पौडेलले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छोड्न बाध्य बनेपछि खेल तनाव ग्रस्त बन्न पुग्यो ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूचीमा रहेकी रेखाले रेडकार्ड पाएसँगै असन्तुष्ट देखिएका नेपाली दर्शकले मैदानमा अनावश्यक सामान फाल्न थाले । योसँगै खेल १५ मिनेट स्थगित भएको थियो ।
खेलको ६२ औँ मिनेटमा भारतकी सङ्गीता बास्फोरले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिँदा लगत्तै रेफ्रीको अनुमतिमा सुरु भएको खेलमा नेपालकी प्रीति राईले गरेको गोलले मान्यता पाउन सकेन ।
योसँगै खेल थप तनावपूर्ण बन्न पुग्यो । एक घण्टा १५ मिनेटसम्म खेल अवरुद्ध हुँदा रंगशालामा देखिएको अन्यौलपूर्ण अवस्था नै यो सबैभन्दा महत्त्वपूर्ण क्षण बन्यो ।
नेपाली खेलाडीको असहमतिका बाबजुद आयोजकको चेतावनीपछि पुनः सुरु भएको खेलको १० मिनेटमा साम्बाको उत्कृष्ट काउन्टर गोलमा बराबरी कायम हुन पुग्यो । निर्धारित ९० मिनेटमा अन्य गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेर नेपालको पक्षमा नतिजा आएको हो ।
योसँगै महिला साफ च्याम्पियनसिपमा स्थायी उपविजेताको छवि बनाएको नेपालले बंगलादेशविरुद्ध फाइनलमा भेट पक्का गरेको हो । अब नेपालले बंगलादेशलाई पराजित गर्दै पहिलो उपाधि जित्ने लक्ष्य लिएको छ ।
जारी साफ च्याम्पियनिसिपमा अपराजित यात्रा कायम राख्दै फाइनलमा प्रवेश गरेको नेपाल र बंगलादेशको खेल रोचक बन्ने देखिन्छ ।