काठमाडौँ । गत अगष्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
‘छुप्पु’ भनेर चिनिने ७४ वर्षीय शहाबुद्दीन सन् २०२३ मा अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगको बहुमत रहेको संसदबाट निर्वाचित भएका थिए ।
यो पद संवैधानिक भए पनि उनको पदबाट हट्ने सम्भावनाले संवैधानिक शून्यताको डर पैदा गरेको छ । “राष्ट्रपतिलाई हटाउनेबारे कुनै पनि निर्णय राजनीतिक सहमतिका आधारमा हुनेछ,” हसिनाको भारत पलायनसँगै घोषणा भएको राजीनामापछि बनेको अन्तरिम सरकारका प्रेस सल्लाहकार शफिकुल आलमले भने ।
अन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले ‘मुख्य सल्लाहकार’का रूपमा काम गरिरहेका छन् । सरकारका प्रवक्ता सैयदा रिजवाना हसनले शहाबुद्दीनलाई हटाउने विषयमा छलफल भइरहेको बताए ।
यसै महिनाको सुरुमा शहाबुद्दीनले हसिनाको राजीनामा पत्र आफूले कहिल्यै नदेखेको बताएपछि चर्को विरोध भएको थियो ।
गत हप्ता राष्ट्रपति भवनपरिसरमा आक्रमण गर्न खोज्ने सयौँको भीडसँग प्रहरीबीच झडप हुँदा ३० जना अधिकारी र प्रदर्शनकारी घाइते भएका थिए ।