काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको बताएका छन् ।
सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रष्ट रहेको बताएका हुन् । उनले यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानून र विधयेक प्रस्तुत गरिएको दाबी गरे ।
यस्तै, उनले भ्रष्टाचार, ठगी वा अरु अपराधजन्य घटनामा सबै आरोपितमाथि अनुसन्धान हुने बताए । ‘कुनै काखापाखा हुन्न, सत्ता पक्ष प्रतिपक्ष हेरिन्न’, उनले भने, ‘मुख हेरिन्न, तथ्य हेरेर गरिन्छ, प्रमाणले जताजता लान्छ, अनुसन्धान त्यतात्यता जान्छ ।’
गृहमन्त्री लेखकले कानूनविपरीत कसैलाई सरकारले प्रतिशोध साध्ने, दुःख र हैरानी दिने काम नगरेको बताए । ‘अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुन्छ, अदालतबाट अनुमति लिनु पर्ने ठाउँमा न्यायालयबाट अनुमाति लिइन्छ,’ उनले भने ।
गृहमन्त्री लेखकले भ्रष्टाचारलाई न्यूनीकरण गरेर यसमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
‘यी विधयेकहरु पूर्ववर्ती सरकारबाट प्रस्तुत भएका भए पनि सरकार भनेको अविछिन्न उत्तराधिकारी हो, सरकार अलग/अलग हुँदैन,’ उनले थपे ।