काठमाडौँ । सांसदहरूले भ्रष्टाचारजन्य कसुरमा काखापाखा नगरी अनुसन्धान गर्न सरकारलाई सुझाव दिएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनीहरूले भ्रष्टाचारका सबै प्रकरणमाथि अनुसन्धान हुनु पर्ने र काखापाखा नगरी कारावाहीको प्रक्रिया अघि बढाउन सुझाव दिएका हुन् ।
बैठकमा राप्रपा सांसद बुद्धिमान तामाङले सरकारको काम कारबाही एक पक्षीय देखिएको बताए । एउटै प्रकरणमा कसैलाई कारबाही गर्ने र कसैलाई उन्मुक्ति दिने काम भएको उनको भनाइ थियो ।
यस्तै, सांसद चन्दा कार्की भण्डारीले रवि लामिछाने पक्राउपछि रास्वपाले न्यायपालिका प्रभावित गर्न नखोजेको जिकीर गरिन् । लामिछानेलाई थुनाबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने उनको सुझाव थियो ।
सांसद सरिता प्रसाईंले स्वार्थ बाझिने गरी व्यवसायीबाट उपहार लिने र दिने दुवैलाई कारबाही हुनु पर्ने बताइन् । उनले भ्रष्टाचारजन्य मुद्दामा सबैलाई कानून बराबर हुनु पर्ने उल्लेख गरेकी थिइन् ।
यसैगरी, सांसद हृदयराम थानीले गिरिबन्धु, क्यानटोन्मेट, ललिता निवास, वाइडवडी, यति, ओम्नीको अनुसन्धानको जवाफ सरकारले दिन सक्नु पर्ने बताए । अरू सांसदहरूले समेत अनुसन्धानका नाममा सरकारले विभेद गर्ने गरेको भन्दै आशंका व्यक्त गरेका थिए ।