किन धनराजलाई कारबाही गराउन चाहन्छन् गगन ?-Sutra News

किन धनराजलाई कारबाही गराउन चाहन्छन् गगन ?

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा मुछिएका पार्टी उपसभापति धनराज गुरुङलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको शुभकामना आदान–प्रदान कार्यक्रममा सोमबार उनले खुलारुपमै यस्तो माग गरेका हुन् ।



“…नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो”, उनले भनेका छन्, “थप अनुसन्धान गर्नुपर्छ । म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकैदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् ।”

विपक्षी दलहरुले सडकबाट गुरुङमाथि कारबाहीको माग गर्दै गर्दा पहिलो पटक यसरी थापाले बोलेका हुन् । महामन्त्री थापाको पछिल्लो खुला अभिव्यक्तिले आमरुपमा तरङ्ग ल्याएको छ । सरकारलाई कारबाहीको दायरामा ल्याउन दबाब बढाएको छ ।

सँगै, खुलारुपमा कारबाहीको माग गरेसँगै यसले महामन्त्री थापा र उपसभापति गुरुङ सम्बन्धबारे पनि प्रश्न उठेको छ । महामन्त्रीको थापा उपसभापति गुरुङबारेको अभिव्यक्तिलाई रणनीतिकरुपमा समेत अथ्र्याइएको छ ।

उपसभापति गुरुङ र महामन्त्री थापा कांग्रेसभित्र एउटै गुटका नेता हुन् । तर, महामन्त्री थापाको अभिव्यक्तिले इतर समूहभित्र चरम अन्तर्विरोध भएको संकेत पनि गर्दछ ।

हुन त सुरुवातदेखि नै उपसभापति गुरुङ र महामन्त्री थापा एउटै समूहमा भएपनि दुईबिच हार्दिक सम्बन्ध नरहेको देखिन्छ । विशेषगरी समूहभित्रै एउटाले अर्कोलाई सिध्याउने कोणबाट अभ्यास भएको पाइन्छ ।

संसदीय दलको नेताको निर्वाचन होस् वा त्यसपछिका विभिन्न घटनामा दुई नेताबिच अस्वस्थ प्रतिस्पर्धाको अवस्था देखिन्छ । संसदीय दलको निर्वाचनमा उपसभापति गुरुङसहितका नेताहरु स्वयम् महामन्त्री थापालाई हराउन लागेका थिए । जुन घटनापछि उपसभापति गुरुङ मन्त्री भए । जसबारे स्वयम् शेखर कोइरालाले सार्वजनिकरुपमै आत्मआलोचना गरेका छन् ।

सहकारी प्रकरणसम्म आउँदा उपसभापति गुरुङमाथि कारबाहीको माग गर्नुले बाहिर इमानको कुरा देखिएपनि भित्र अन्तरसंघर्ष चुलिएको रुपमा अथ्र्याउन सकिन्छ ।

विशेषगरी कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर तिव्र धुव्रिकरण देखिन्छ । जसको प्रभावस्वरुप भएका गुट भत्किँदैछन् भने नयाँ–नयाँ गुटहरु बन्न थालेका छन् । पछिल्लो घटनालाई हेर्दा, सोही घटनाक्रमको बिचमा देखिएको अन्तरसंघर्षको झिल्कोको रुपमा समेत अथ्र्याउन सकिन्छ ।

यद्यपि, सहकारी संस्थाको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले उपसभापति गुरुङमाथि कारबाहीको लागि भने सिफारिस गरेको छ । समितिले ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना प्रकरणमा गुरुङको संलग्नता देखिएको भन्दै थप अनुसन्धान र कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सहकारी सञ्चालकले दिएको उजुरीअनुसार मितेरी सहकारीको करिब १४ करोड रुपैयाँ गुरुङ पत्नि ज्योति गुरुङको नाममा हिनामिना भएको थियो । प्रतिवेदनका अनुसार सहकारीको हिनामिना सार्वजनिक भइसकेपछि धनराज र ज्योतिले २०७६ फागुन २९ मा अदालतबाट सम्बन्धविच्छेद गरेका थिए ।

“मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्धविच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको चर्चा छ”, प्रतिवेदनमा भनिएको छ, “सहकारी संस्थाका तर्फबाट ज्योति र धनराजसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आएकामा सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित गरेको छ ।”

सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

“झूट र नक्कली कारोबारको शृंखलाकै कारण अहिले म सहकारी संस्थामा आबद्ध नरहेको कुरा अभिलेख गराइपाऊँ भन्ने व्यहोराको निवेदनको चाङ सहकारी निकायहरूको कार्यालयमा लाग्न थालेको छ”, प्रतिवेदनमा लेखिएको छ, “सहकारीमा ऋणपत्र झूटो र नक्कली हुने भन्दै ऋणीहरूले समेत समितिमा जानकारी गराएका छन् । कुनै एउटा सन्दर्भको काममा प्रयोग गरिएका कागजातका आधारमा नक्कली ऋण खडा गर्ने र किर्ते दस्तखतसमेत गरिदिने व्यवहारहरू सामान्य सोचसमझको मान्छेले गर्न नमिल्ने र नसक्ने कुरा हुन् ।”

महामन्त्री थापाले एकातिर छानबिन समितिकै आधारमा गुरुङमाथि कारबाही गर्न दबाब बढाएर विपक्षीको विरोधलाई निस्तेज पार्न खोजेका छन् भने अर्कोतिर पार्टीभित्रै प्रतिस्पर्धीहरुलाई कमजोर पार्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट