काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भएको बताएका छन् । एक न्यूज एजेन्सीलाई सरकारबारे समीक्षात्मक प्रतिक्रिया दिँदै प्रचण्डले यस्तो भनेका हुन् ।
यद्यपि, सरकार असफल भएपनि माओवादी केन्द्र सरकार ढाल्ने पक्षमा नरहेको उनले बताएका छन् । सरकार ढाल्ने खेलमा लाग्दा जनतामा अर्को खालको निराशा पैदा हुने उनको भनाई छ । उनले यही सरकारलाई सच्याउने पक्षमा आफू लागेको बताए ।
“सरकार गठनको दिगो हिसाबले, प्रक्रियाको हिसाबले, समयको हिसाबले, ठाउँको हिसाबले भनेर भनेको थिएँ । नभन्दै सय दिनसम्मको हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । सरकार असफल नै छ । तर, फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु कि सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस् । र, सकारात्मक काम गरेर जाओस् भन्ने छ”, अध्यक्ष प्रचण्डले भनेका छन्, “यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनसाय छैन ।”
उनले जनताको मागलाई ध्यानमा राखेर काम गर्न सरकारलाई सुझाएका छन् ।