काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले रवि लामिछानेलाई जस्तै आरोप लागेका कांग्रेस र एमालेका नेतालाई सरकारले जोगाएको दाबी गरेका छन् ।
बालुवाटारमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै आफ्नो पार्टी सभापति लामिछानेलाई हिरासतमा राख्नु पर्ने कुनै कारण नभएको उनको भनाइ थियो ।
‘सरकारले प्रतिशोध राखेको भन्ने पुष्टी भइसकेको छ, त्यसको प्रतिवाद गरेका छौँ, उहाँलाई जस्तै कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका नेता ऋषिकेश पोखरेललाई पनि आरोप लागेको छ,’ उनले भने, ‘उहाँहरुलाई सत्ताले बचाइराखेको छ, जीबी राईका सल्लाहकार अहिले राष्ट्रपतिका सल्लाहकार छन् ।’
यस्तै, उनले लामिछानेलाई जस्तै आरोप लागेकाहरू खुलेआम हिँडिरहेको बताउँदै सत्ताको आडमा उन्मुक्ति दिन खोजेको बताए ।