दिउँसो विरोध, राति–राति हारगुहार गर्दै बालुवाटार !-Sutra News

दिउँसो विरोध, राति–राति हारगुहार गर्दै बालुवाटार !

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौं । सहकारी अपचलन मुद्दामा पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्दोलित छ । लामिछानेमाथि छानबिन चल्दै गर्दा रास्वपाले रिहाइको माग गर्दै सडक प्रदर्शन गरिरहेको छ ।



पोखरापछि रास्वपा अहिले केन्द्रीय राजधानी काठमाडौं केन्द्रित प्रदर्शनमा जुटेको छ । मंगलबार रास्वपाले काठमाडौंको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको थियो ।

रास्वपाले प्रदर्शनमा पार्टी सभापतिको निःशर्त रिहाईसँगै सरकार विरोधी आक्रामक नाराबाजी पनि गरिरहेको छ । सरकारले पूर्वाग्रह साँधेर रविलाई पक्राउ गरेको, सरकार आफ्नालाई जोगाउन लागेको, सरकारले भ्रष्टाचारमा रेकर्ड राखेको जस्ता आरोप रास्वपाले सडकबाट लगाइरहेको छ ।

रास्वपाले सडक प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरोधी नारा मात्रै लगाएको छैन, पुत्ला पनि दहन गरिरहेको छ ।

तर, यसरी सडक प्रदर्शनमा जुटिरहँदा रास्वपाका नेताहरु स्वयम् प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि भेटिरहेका छन् । रास्वपाका नेताहरुले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

यसरी नेताहरु प्रदर्शन र भेटवार्तामा जुटिरहँदा एमालेका नेता विष्णु रिमालले भने ‘अशोभनीय कार्य’ भन्दै टिप्पणी गरेका छन् । उनले रास्वपा नेताहरुको शैली निकै अराजनीतिक भएको बताएका छन् ।

“दिनभरि प्रधानमन्त्रीका विरूध्दमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाहसॉस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्‍यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ?”, रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, “यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेजस्तो उहाँले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट