काठमाडौं । लगातार बृद्धिका बिच स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको तुलनामा एकै दिन २२ सय रुपैयाँले बढ्दै बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ७ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । जुन मंगलबारसम्मको लागि उच्च मूल्य थियो ।
यद्यपि, बुधबार त्यो रेकर्ड तोडिएको छ ।
सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहँदा चाँदीको मूल्य पनि उच्च बिन्दुमा पुगेको छ । मंगलबारको तुलनामा प्रतितोला १५ रुपैयाँले बढ्दै बुधबार चाँदीको मूल्य २१२० रुपैयाँ पुगेको हो ।
मंगलबार चाँदीको मूल्य प्रतितोला २१०५ रुपैयाँ थियो ।
यसअघि कात्तिक ७ मा प्रतितोला २१३५ रुपैयाँ पुगेको थियो ।
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २७७९.३१ डलरमा किनबेच भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा १०.४६ डलरले बढी हो ।
अमेरिकामा राष्ट्रपतीय चुनाव सुरु हुँदै गर्दा विश्वभर राजनीतिकरुपमा के होला भन्ने अन्योल देखिएको छ । विशेषगरी मध्यपूर्वी देशमा देखिएको संकटलाई अमेरिकी चुनावसँग जोडेर हेरिएको छ । जसको प्रभाव सुनको खपत विश्वभर नै बढिरहेको छ ।
माग बढीरहँदा सुनको मूल्य निरन्तर बृद्धि भइरहेको छ । जसको प्रभाव स्थानीय बजारमा पनि मूल्य बढेको हो ।