काठमाडौँ । इतिहासमै पहिलो पटक हिन्दू पर्व दीपावली मनाउनका लागि अमेरिकाको न्युयोर्क सहरका विद्यालय नोभेम्बर १ मा बन्द हुने भएका छन् ।
“यस वर्षको दीपावली विशेष छ, न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय बन्द गरिने भएको छ,” मेयरको अन्तर्राष्ट्रिय मामिला विभागका उपायुक्त दिलीप चौहानले भने ।
“११ लाख विद्यार्थी रहेको न्युयोर्क सहरमा विद्यालय सार्वजनिक बिदा घोषणा गर्न सजिलो छैन”, चौहानले भने, “विभिन्न समुदायका नेता, अधिवक्ता, निर्वाचित अधिकारीहरुले धेरै वर्षदेखि यस विषयमा पहल गरिरहेका थिए, अन्ततः न्युयोर्क सहरका मेयर एरिक एडम्सको प्रशासनले नोभेम्बर १, शुक्रबार विद्यालय बिदाको घोषणा गरेको छ ।”
चौहानले दिपावलीका लागि सार्वजनिक बिदा घोषणा गरेकोमा मेयर एरिक एडम्सप्रति कृतज्ञता व्यक्त गरे । उनले भने, “मेयर एरिक एडम्सको यो घोषणाप्रति हामी धेरै आभारी छौँ, सबैलाई दीपावलीको शुभकामना ।”
यसअघि जुनमा, न्यूयोर्क सहरले आधिकारिक रूपमा दीपावलीलाई सार्वजनिक विद्यालय बिदाको रूपमा घोषणा गरेको थियो । दिवाली हिन्दू, जैन, सिख र बौद्धद्वारा मनाइने प्रमुख चाडमध्ये एक हो ।