काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी सुरु गरेका छन् । सत्ता सम्हालेपछि अमेरिका भ्रमणमा पुगेका उनी छिमेकी मुलुकहरुको भ्रमण गर्न सकेका छैनन् ।
असोजको ४ देखि १४ गतेसम्म संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले यही अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग आधा घण्टा भेटवार्ता गरेका थिए ।
यस क्रममा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । भेटमा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
यसअघि, परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा पुगेकी थिइन् । भदौको पहिलो साता भारत भ्रमणमा रहेकी उनले पछिल्लो एक दशकपछि नेपालको तर्फबाट परराष्ट्र मन्त्रीको हैसियतमा भारतीय प्रधानमन्त्रीसँग ‘वान टु वान’ भेट गर्ने अवसर पाएकी थिइन् ।
मोदीसँगको भेटमा मन्त्री राणाले प्रधानमन्त्री ओलीको सन्देशबारे जानकारी दिएकी थिइन् । यस क्रममा उनले प्रधानमन्त्री ओलीको तर्फबाट नेपाल भ्रमणको निम्तो दिन भ्याइन् ।
तेस्रो पटक प्रधानमन्त्री बनेका मोदीलाई नेपालको तर्फबाट भ्रमणका लागि पटक पटक निम्तो दिइएको छ । प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्रीले उनलाई भ्रमणको निम्तो दिए पनि कुनै चासो देखाएका छैनन् ।
यता, सत्ता सम्हालेको सय दिन पूरा भए पनि प्रधानमन्त्री ओलीले भारत भ्रमणको निम्तो पाउन सकेका छैनन् । भारतीय समकक्षी र नेताहरुसँग प्रत्यक्ष भेटवार्ता गरेका ओलीले भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली सम्भवतः डिसेम्बरमा उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गर्ने तयारीमा जुटेका हुन् । उनको भ्रमणका लागि एमालेका विदेश विभाग र सरकारबाट तयारी भइरहेको जनाइएको छ ।
संविधान संशोधन गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको प्रशासनिक चुच्चे नक्सा सार्वजनिक गरेसँगै ओलीसँग भारत असन्तुष्ट बन्दै आएको विज्ञहरुको बुझाइ छ । ओली प्रधानमन्त्री हुँदा विं.सं. २०७७ जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकमा नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय भएको थियो ।
संविधान संशोधन गराएर उक्त नक्सालाई संवैधानिक मान्यता दिलाएका ओलीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्धमा गम्भीर चिसो परेको विश्लेषकहरू बताउँछन् ।
यसैबीच प्रतिनिधिसभाको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर शक्तिशाली सरकार बने पनि मोदीले वेवस्था गरेको देखिन्छ । यस क्रममा उनले नेपाल भ्रमण गर्न आवश्यक ठानेका छैनन् भने नेपालमा नयाँ प्रधानमन्त्री हुँदा दिँदै आएको निम्तो पनि दिएको छैन ।
यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको तयारी गर्न निर्देशन दिन बाध्य भएको देखिन्छ । एमालेका नेताहरुले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भएको स्वीकारेका छन् ।
ओलीको नजरमा आफ्नै सरकार
दुई ठूला दलसहित सत्ता गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले सरकारमाथि गम्भीर टिप्पणी गर्दै आएका छन् । उनले गर्ने अधिकांश सम्बोधनमा दुई तिहाईको सरकारलाई कसैले ढाल्न नसक्ने अभिव्यक्ति दिन्छन् ।
आफूलाई प्रधानमन्त्री बनाउने कांग्रेसले अरु दलसँग मिलेर नयाँ सरकार बनाउनेमा शंका व्यक्त गर्दै दिएको यी अभिव्यक्तिले ओली आफै समस्यामा परेका छन् । कांग्रेसभित्र एक पक्षका नेताहरुले ओलीले भने जस्तो काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
यता, आफ्ना पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई भारतीय प्रधानमन्त्री मोदीले दिएको सम्मानमा खुसी भएको कांग्रेस ओलीसँग भारतको सम्बन्ध बलियो नहुँदा कुनै असर परेको देखिँदैन ।
‘नक्सालाई राजनीतिक औजार’ बनाउन नहुनेमा पूर्व परराष्ट्र मन्त्री तथा कांग्रेस नेता एनपी साउद भारतसँग सीधा वार्ता गरेर समस्याको समाधान गर्नु पर्ने बताउँछन् ।