काठमाडौँ । नेपाली महिला राष्ट्रिय टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्स प्रस्थान गरेकी छन् । साफ च्याम्पियनसिपको फाइनल खेलेसँगै उनी राति नै फ्रान्स प्रस्थान गरेकी हुन् ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो । योसँगै नेपाल छटौँ पटक उपविजेतामा सीमित भएको थियो ।
फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेलेकी सावित्राले साफमा तीन खेलमा मात्रै सहभागी भएकी थिइन् ।
उनले समूह चरणमा भुटानविरुद्धको खेल उनले गुमाएकी थिइन् । उक्त खेलमा नेपालले भुटानसँग बराबरी खेलेको थियो ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले माल्दिभ्सविरुद्धको खेलमा भने आराम दिएका थिए । उक्त खेलमा नेपाल ११–० ले विजयी भएको थियो ।
साम्बाले समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रिँदा एक गोल गरेकी थिइन् । यो खेलमा नेपाल ६–० गोलले विजयी भएको थियो । भारतविरुद्धको सेमिफाइनलमा पनि उनले नेपाललाई पेनाल्टी सुटआउटसम्म पुर्याउन निर्णायक गोल गरेकी थिइन् ।