प्रकाश रजौरेलाई प्रश्न : सेयर बजारमा बुल सकिएको हो कि बाँकी छ ?-Sutra News

प्रकाश रजौरेलाई प्रश्न : सेयर बजारमा बुल सकिएको हो कि बाँकी छ ?

बिहिबार, १५ कार्तिक २०८१

बिहिबार, १५ कार्तिक २०८१

राजनीति र सेयर बजारको लय उस्तै देखिएको छ । राजनीति जसरी उथलपुथलको बिचमा छ, सेयर बजार पनि करिब त्यस्तै छ । दुई महिनाकै बिचमा झण्डै एक हजार अंकले बढेर तीन हजारको बिन्दुसम्म उक्लिएको नेप्से फेरि घट्दै २४ सयको बिन्दुमा झर्‍यो । यद्यपि, चाडपर्वकै बिचमा फेरि केही बृद्धि देखियो ।



यो उथलपुथलपूर्ण अवस्थाका बिच नेप्से कता जाँदैछ ? नेप्सेको अबको बाटो कता हो ? यी यावत् सन्दर्भमा केन्द्रित रहेर नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरेलाई सूत्र टिभीको तर्फबाट सन्देश अर्यालले केही प्रश्न गरेका छन् । रजौरेसँग गरिएको कुराकानीको छोटो अंश, भिडियोसहित ।

राजनीति र सेयर बजार उस्तै–उस्तै देखिन्छ । राजनीति अन्योलग्रस्त भइरहँदा बजार चाहिँ कता जाँदैछ ?

पछिल्लो केही महिनाको उतारचढावलाई हेर्दा, बजारले करेक्सन पार गरेको जस्तो अनुभूति हामीले गरेका छौं । बजारको स्थापनादेखि अहिलेसम्म आउँदा अहिलेको अवस्थालाई पाँचौं बुलको रुपमा हेरेका छौं । जुन ३२ सयको बिन्दुमा पुगेर मार्केट तल आयो र १८ सयको बिन्दुमा अडियो, त्यो साइडवेजको चरणलाई आजको दिनमा पार गरेर बजार अगाडि बढेको अनुभूति हामीले गरेका छौं ।

मार्केट प्रायः चाडपर्वको बिचमा घटेको पाइन्छ । अहिलेको चाडपर्वमा पनि त्यस्तै स्थिति देखियो । त्यही ट्रेण्ड चलेको हो वा अरु पनि केही घटना फेरिएको हो ?

बजारमा कारोबार गर्ने लगानीकर्ताको दैनिक आर्थिक गतिविधि पनि सेयर बजारसँग जोडिएको हुन्छ । लगानी गर्ने अवस्थामा लगानी गर्ने र खर्च चाहिएको अवस्थामा पुनः बेच्ने अवस्था रहन्छ । अहिलेको सन्दर्भमा पनि मार्केटमा त्यही ट्रेण्ड चलेको हो । यद्यपि, धेरै उतारचढाव हुने अवस्था छैन ।

मार्केटले १८ सयको बिन्दुबाट २२ सयको बिन्दुमा उक्लिएर एउटा अवरोधको सामना गर्नुपर्‍यो । लामो समयसम्म त्यो रह्यो ।

२२७० को इन्डेक्सलाई हामीले हेरिरहेका थियौं । त्यो बिन्दु क्रश गरेपछि बजारले ३ हजारको बिन्दुलाई चुम्यो । ३ हजारको बिन्दुसम्म पुग्दै गर्दा बजारमा स्वभाविक करेक्सन आउँछ, आउनुपर्छ । त्यो बिन्दुबाट मार्केट करेक्सन हुँदै आजको अवस्थामा चलिरहेको छ । बजारमा इन्डेक्स एउटा पक्ष हो भने अर्को पक्ष समय हो । अहिलेको अवस्थामा बजारले करिब–करिब करेक्सनको एउटा चरण पार गरिसकेको छ र समय पनि करिब–करिब पूरा गरिसकेको छ ।

अहिले फेस्टिभ सिजनले मार्केट केही प्रभावित बन्यो, त्यो स्वभाविक हो । तर, मार्केटको गतिलाई हेर्ने हो भने अब मार्केट आक्रामक ढंगले अगाडि बढ्नुपर्छ ।

सेयर बजारमा आन्तरिकसँगै बाह्य विषय पनि जोडिएको पाइन्छ । विशेषगरी नीतिगत पाटोसँगै राजनीतिक माहोल पनि कारक हुन् भन्ने गरिन्छ । त्यसलाई कसरी हेर्न सकिन्छ ?

बजारलाई धेरै कुराले प्रभाव पार्छ । जसमा राजनीतिक घटनाक्रम, नीतिगत पक्ष, आर्थिक अवस्थालगायत मुख्य गरी देखिन्छ । अहिलेको सन्दर्भमा राजनीतिक घटनाक्रम र नीतिगत पक्ष मुख्य बनेको पाइन्छ । अहिले मार्केट बढ्नुमा ठूला राजनीतिक दलहरुबिचको सत्ता सहकार्यलाई हामीले नकार्न मिल्दैन । त्यसले आम लगानीकर्तामा मनोवैज्ञानिक हिसाबले स्थिरताको सन्देश पनि दिएको पाइन्छ । यदि अहिलेको समीकरण तलमाथि हुने अवस्था बन्यो वा होला कि भन्ने बन्यो भने त्यसले स्वभाविक मार्केट प्रभावित हुन्छ ।

अहिले विपक्षीहरुले सडक प्रदर्शन गर्दै गर्दा त्यसको प्रभाव बजारमा केही परेको पाइयो । यद्यपि, जसरी प्रदर्शन कमजोर बन्यो, त्यसरी नै प्रभाव पनि स्वतः सकियो ।

हामीले बुझ्नुपर्ने विषय, देशमा सशस्त्र द्वन्द्व चल्दै गर्दा पनि सेयर बजार बढेको थियो । अहिले त्यस्तो अवस्था छैन । कतिपयले बंगलादेशको त्रास फैलाएका छन्, लगानीकर्ताको बुझाईमा अवस्था त्यस्तो छैन । त्यस्तो संकटको कल्पना हामीले गरेका छैनौ । तपाइँ आन्दोलनको स्वरुपलाई नियाल्नु भयो भने, आन्दोलनमा जनता होइन, नेता र कार्यकर्ता मात्रै सहभागि भएको देख्नुहुन्छ । यस्तो अवस्थाका आन्दोलनलाई हामीले निर्णायक मान्ने अवस्था छैन । सँगै यो व्यवस्था परिवर्तन हुने वा अर्को कुनै विकल्पमा मुलुक जाने अवस्था छैन । यस्ता छिटफुटले पुँजीबजार र बजारका लगानीकर्ता प्रभावित हुने अवस्था रहन्न ।

जे–जस्तो खालको रिपोर्ट बैंकिङ्ग क्षेत्रको आयो । यसले पनि बजार प्रभावित बनेको भन्ने छ । यसलाई कसरी हेर्नुहुन्छ ?

बैंकिङ्ग क्षेत्रको रिपोर्ट यसपटक मात्रै होइन, गत वर्ष पनि यस्तै प्रकृतिको आएको थियो । कारण विगतमा ब्याजदर बढेर धेरै माथि थियो । जसको प्रभाव ऋण लिएर लगानी गर्ने अवस्थामा लगानीकर्ता थिएनन् । अहिलेको अवस्थामा ब्याजदर घटिसक्यो, पैसा बैंकसँग छ, लगानी गर्न लगानीकर्ता इच्छुक छन् तर, लगानी बढाउने अवस्था छैन । अहिले बासल ३ को नाममा राष्ट्र बैंकले हरेक ठाउँमा बारहरु लगाइदिएको छ, जसको कारण बजारमा पैसा जान सकेको छैन । जसको कारण पुँजी बजारमा पुँजीकै अभाव छ । यदि यसलाई सच्याउने हो भने बजारले निकै राम्रो बाटो लिनसक्छ ।

अबको मार्केटको अवस्था कस्तो होला ? सम्भावना के देख्नुहुन्छ ?

बजारमा जहिले पनि एउटा बुलको चरण पार गरेर अर्को बुलको चरणमा जाँदा त्यहाँ धेरै कम्पनीहरु बजारमा आइसकेका हुन्छन् । त्यसले पुँजीलाई बढाइसकेको हुन्छ । यसले इन्डेक्सको इन्डिकेटरलाई पनि बढाउँदै जान्छ । हिजोको ३२ सयको इन्डेक्स र अहिलेको पुँजीकरणअनुसारको बजारलाई हेर्दा बजारले अहिले नै एक हजार इन्डेक्स स्वतः बढ्नुपर्ने देखाउँछ । हिजोको इन्डेक्स र अहिले बढ्नुपर्ने अवस्थालाई हेर्दा, बजार ४२ सयको बिन्दुमाथि स्वभाविकरुपमा पुग्नुपर्छ ।

बाँकी संवाद भिडियोमा हेर्नुहोला

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट